निर्वाचनको पछिल्लो परिणामले राष्ट्रिय सभाको दलीय संरचनामा परिवर्तन
काठमाडौं- आगामी फागुन २१ पछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने भएको छ । राष्ट्रिय सभाको हिजो भएको निर्वाचन परिणामले माथिल्लो सदनको दलीय संरचनामा परिवर्तन भएको हो ।
निर्वाचन परिणाम अनुसार नेकपा एमालेलाई पछि पार्दै नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल बन्दा नेपाली कांग्रेस दोस्रो ठूलो दल बनेको छ । १९ पदका लागि भएको निर्वाचनमा सत्तारूढ गठबन्धनका १८ र एमालेका एक जना उम्मेदवार विजयी भएका छन् ।
परिणाम अनुसार माओवादी केन्द्रका छ जनामध्ये पाँच जना उम्मेदवार निर्वाचित भएसँगै सो दलको कुल सदस्य सङ्ख्या यसअघि एमालेको सदस्य सङ्ख्या जति नै १७ पुगेको छ ।
यसअघि तेस्रो ठूलो दल रहेको नेपाली कांग्रेस १६ सदस्य सङ्ख्यासहित दोस्रो ठुलो दल बनेको हो । कांग्रेसका चार र माओवादीका तीन जना राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिँदै छ ।
नेकपा एमालेका एक उम्मेदवार निर्वाचित भएपनि सो दलको राष्ट्रिय सभामा सदस्य १० जनामा सीमित हुन पुगेको छ । उसको आठ जना सदस्यको पदावधि सकिन लागेकोमा एक जना मात्रै निर्वाचित भए ।
प्रतिक्रिया राख्नुहोस्