उपचारको अभावमा २० वर्षदेखि घरभित्रै बन्धक

गोरखा – मानसिक स्वास्थ्य समस्याको उपचारको अभावमा गोरखा नगरपालिका ५ नाङ्लेपानीका ४२ वर्षका मंगलबाबु सिर्मल झण्डै २० वर्षदेखि आफ्नै घरभित्र बन्धक जीवन बिताइरहनु भएको छ ।
दुई भाई छोरामध्ये जेठो मंगललाई कहिलेदेखि मानसिक समस्या देखिन थाल्यो भन्ने ७३ वर्षकी आमा फिस्टी सिर्मललाई यकिन छैन तर उपचारमै देशका विभिन्न अस्पताल धाउन थालेको मात्रै २० वर्षभन्दा बढी समय भैसकेको उहाँको भनाई छ ।
पहिले पहिले खुल्लै राख्ने गरेकोमा छरछिमेकमा गएर उपद्रो गरिदिन थालेपछि घरको कोठाभित्र थुनेर राख्नु परेको उहाँले बताउनुभयो ।
बाहिर हिँडडुल गर्न नसकोस् भनेर मंगललाई थुनेर राखिएको कोठाको काठे ढोका बाहिर रेलिङ सहितको अर्को फलामे ढोका जडान गरिएको छ ।
कोठाभित्रै एउटा खाल्डो परेको भागमा गरिएको शौचलाई बाहिर निकाल्न पाइप जडान गरिएको छ । झ्यालमा पनि तारजाली लगाइएका छ ।
फलामे तारबार सहितको कोठाभित्रबाट आक्कलझुक्कल बाहिर निस्कन पाउने मंगल आमाले भनेको मान्छन् त्यसैले आमा फिस्टीको रेखदेखमा मात्रै बेलाबखत बाहिर निस्कन पाउँछन् ।
तारबार सहितको कोठाभित्रै बसिरहेका बेला मंगल निरन्तर अंग्रेजी बोलिरहन्छन् । रेलिङको सानो प्वालबाट खानेकुरा र पानी भित्र छिराउने गरिएको छ । छरछिमेक र आफन्तहरुका अनुसार विद्यालय तहमा मंगल पढाईमा तेज थिए ।
भाई ईश्वरका अनुसार सदरमुकामको शक्ति माध्यमिक विद्यालय पाटेचौरबाट २०५६ सालमा तेस्रो श्रेणीमा प्रवेशीका परीक्षा उत्तीर्ण गरेपछि उहाँले दुईवर्षसम्म गोरखा क्याम्पसमा अध्ययन गर्नुभयो । त्यहीबिचमा २०५८ सालतिरबाट मानसिक समस्या देखा परेको ईश्वरको भनाई छ ।
हालसम्म कैयौंपटक झारफुक सहित अस्पतालको उपचार गराएपनि उनको स्वास्थ्यमा सुधार हुन नसकेको आमा फिस्टी सिर्मल बताउनुहुन्छ । बुबा लक्षुमन सिर्मलको केही वर्ष पहिले दुर्घटनावश मृत्यु भयो भने मंगलका भाई ईश्वरले पनि रोगका कारण एउटा आँखाको दृष्टि गुमाए ।
अहिले दुई छोराको हेरबिचार र लालनपालनको जिम्मा ७३ वर्षकी आमा फिस्टीको काँधमा छ । छरछिमेक र आफन्तले थप उपचार पाए मंगलको स्वास्थ्यमा सुधार आउँछ नभनेका होइनन् तर यसअघिनै उनको उपचारमा ऋणधन गरेको लाखौं पैसा खर्च भैसकेकाले फिस्टीलाई थप ऋण खोज्ने आँट छैन ।
पाटन अस्पताल, अल्का अस्पताल, भरतपुर अस्पतालमा केही पटकको उपचार र औषधी सेवनपछि मंगलको स्वास्थ्यमा केही सुधार पनि आएको भाई ईश्वरले बताउनुभयो । तर पैसाको अभावकै कारण नियमित औषधी खुवाउन र थप उपचार गर्न नसकिएको उहाँको भनाई छ ।






प्रतिक्रिया राख्नुहोस्