दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री

सिमरा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताउनुभएको छ।
सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो।
प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पार्नुभयो ।
यसअघि हिजो मात्र पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दरवार हत्यकाण्डका सम्वन्धमा तत्कालिन छानविन समिति ड्रामा भएको भन्दै त्यसले तयार पारेको प्रतिवेदनमाथि संशय व्यक्त गर्नु भएको थियो ।
‘राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति यस्तो रह्यो- त्यसबेलाका हाम्रा महासचिव माधवकुमार नेपाल उहाँ आफैं छानबिन समितिमा बस्नुभएको थियो, यो ड्रामामा सामेल नहोऊ भनेर हामीले फिर्ता गर्यौं, नेपालीहरूले विवेक गुमाउनु हुन्न। विचरा दीपेन्द्र! ओलीको भनाइ थियो ।
‘एउटा राजा हुन लागेको मानिस त्यसरी मर्छ? अनि उसले अगाडि र पछाडीबाट गोली हान्छ? चार राइफल र एउटा पेस्तोल एकै जनाले बोकेर कुद्छ? यस्तो कुरा पनि पत्याएर हिँड्ने?’ ओलीको प्रश्न थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार वीरगञ्जमा भएको कार्यक्रममा ०५८ सालमा भएको दरबार हत्याकाण्डबारे बोल्दै २०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहालीलाग्दो र सम्झन पनि मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीका मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाएको काम भएको बताउनु भएको थियो ।
‘सत्य सधैं सत्य हुन्छ। असत्यको विजय कहिल्यै हुँदैन,’ उनले भने, ‘हाम्रामाझ प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौं। यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो। ज्ञनेन्द्र शाहको भनाइ थियो ।






प्रतिक्रिया राख्नुहोस्