बैतडीको दोगडाकेदारमा जिप दुर्घटना, एक जनाको मृत्यु, सात घाइते
बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं २ कटौजपानीमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । आज दिउँसो २ बजे जिप दुर्घटना हुँदा जिपमा सवार दोगडाकेदार गाउँपालिका वडा नं ८ कालागाउँकी १५ वर्षिया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको हो ।
सिल्लेगडा बजारबाट यात्रु बोकेर कालागाउँ जाँदै गरेको सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जिप कटौज पानीमा दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको र चालक सहित अन्य ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता इन्सपेक्टर नन्दराज जोशीले बताउनुभयो ।
घाइते हुनेमा कालागाउँका ५० वर्षिय बिरे लुहार, २६ वर्षिया घुमरा विष्ट, ४० वर्षिया कृष्णा विष्ट,७० वर्षिया हरिमाया विष्ट, १७ वर्षिय महेश विष्ट र ३० वर्षिय जिप चालक भुपेन्द्र विष्ट रहेका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल बैतडीम उपचार भैरहेको छ । प्रहरीका अनुसार जिपमा ८ जना सवार थिए । जिप सडकबाट ५० मिटर तल खसेको बताइएको छ । दुर्घटनाको कारण खुलेको छैन् । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्