‘पदाधिकारीहरुको सुविधा थप्नु अनुपयुक्त’: डा. कोइराला
विराटनगर- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकारले नेताहरुको सेवा सुविधा थप्ने गरी ल्याएको अध्यादेशको विरोध गर्नुभएको छ ।
विराटनगर महानगरपालिका वडा नं. ७ मा समुदायमा कांग्रेस अभियानको शुरुवात गर्दै वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकको आर्थिक अवस्था जर्जर भईरहेको बेला नेताहरुलाई सेवा सुविधा थप्ने भन्दा पनि घटाउनुपर्ने जिकिर गर्नुभयो ।
उहाँले मुलुकको आर्थिक अवस्था बारे सबै राजनैतिक दलहरु संवेदनशिल बन्नुपर्ने बताउँदै मुलुकमा आर्थिक संकटका साथै आर्थिक अपराध पनि बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकको प्रधानमन्त्रीबाटै तीन हजार शहिद थप्ने कार्यले शहिदहरुको अवमूल्यन गर्ने कार्य हुने बताउनुभयो । उहाँले शहिदको वास्तविक परिभाषालाई आत्मसात गरे मात्र शहिदप्रति सच्चा श्रद्धान्जलि हुने बताउनुभयो ।
सो कार्यक्रममा सहभागीहरुले नेपाली कांग्रेसले आफ्नो सिद्धान्तलाई व्यवहारमा परिणत गर्न नसकेको गुनासो गरेका थिए । उनीहरुले स्थानीय समस्याहरु समाधान गर्न अनुरोध गर्दै कांग्रेसलाई आफ्नो कमीकमजोरी सच्याएर हिड्न आग्रह समेत गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्