नेपाल टेलिभिजनले सङ्घीयताको मर्मअनुसार कार्य गरिरहेकोमा प्रधानमन्त्री दाहालद्वारा प्रशंसा

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीयताको मर्मअनुसार प्रदेश र स्थानीय सरकारका गतिविधिलाई नेपाल टेलिभिजनले गरिरहेका कार्यको प्रशंसा गर्नुभएको छ ।

नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सवको उपलक्ष्यमा सिंहदरवारस्थित टेलिभिजन परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले ५ वटा च्यानल र न्यूज पोर्टल नेपाल टिभी अनलाइनमार्फत व्यावसायिक वृत्तिका साथै सङ्घीयता, समावेशीता र समानताको मर्मलाई आत्मसात गर्दै उत्पादन तथा प्रसारण गरिहेकोमा प्रशंसा गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो -नेपाल टेलिभिजन राज्यको आधिकारिक र जिम्मेवार प्रसारण संस्था भएकाले राज्यप्रतिको दायित्व र नागरिकप्रतिको जिम्मेवारीलाई निर्विवाद निर्वाह र गरिरहने छ भन्ने विश्वास पनि व्यक्त गर्दछु ।
प्रधानमन्त्री दाहालले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यावहारिक सुनिश्चितता गर्न प्रतिवद्ध रहेको बताउनुभयो । ‘श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिनेछ । यसका निम्ति सञ्चारमाध्यम र सञ्चार क्षेत्रमा क्रियाशील सबै सरोकार पक्षबीच सकारात्मक र रचनात्मक सहकार्य रहनेछ भन्नेमा म विश्वस्त छु ‘ प्रधानमन्त्री दाहालले बताउनुभयो ।।
राज्यप्रतिको दायित्व भनेको सरकारको गुणगान नभई सुशासन, पारदर्शीता र जवाफदेहिताको पहरेदारी हो भने नागरिकप्रतिको जिम्मेवारी भनेको नेपाली नागरिकका संविधानप्रदत्त अधिकारको प्रत्याभूति रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो । प्रधानमन्त्री दाहालले दीर्घकालमा यसले न्यू मिडियाको विश्वसनीयतालाई बलियो बनाउँदै नयाँ प्रविधिको प्रयोगबाट हुने सूचना सामग्रीको सम्प्रेषणलाई समेत थप प्रभावकारी बनाउनु पर्नेमा पनि सुझाव दिनुभएकाे छ ।






प्रतिक्रिया राख्नुहोस्