सरकारले आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको छः मन्त्री शर्मा
काठमाडौ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आम सञ्चार क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवका समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
आम सञ्चार क्षेत्रको पुनःसंरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरी सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको जानकारी दिनुभयो ।
आम सञ्चार नीति, २०७३ र सङ्घीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिएको पनि मन्त्री शर्माले बताउनु भयो ।
उहाँले सरकारी सञ्चारमाध्यमहरु सरकारी सूचना प्रसारण गर्ने एकोहोरो प्रशारक मात्र नभएको भन्दै सबै कार्यलाई जनताको बिचमा लैजाने र जनताको आवाज र गुनासो, अपेक्षासम्मलाई राज्य समक्ष पुर्याउने माध्यम जिकिर गर्नुभयो । उहाँले नेपाल टेलिभिजनसहित सार्वजनिक प्रशारण क्षेत्रको पुनःसंरचना गर्न खोजिरहेको बतायनु भयो । नेपाल टेलिभिजन र रेडियोनेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रसारण विधेयकमाथि प्रतिनिधि सभाको विषयगत समितिमा छलफल भइरहेको बताउनु भयो ।
मन्त्री शर्माले सूचना प्रविधिको विकास र आम दर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर हातहातमै टेलिभिजन हेर्ने व्यवस्था नगर्ने हो भने अब टेलिजिनको पहुँच बिस्तार गर्न कठिन रहेको बताउनु भयो ।
उहाँले नेपाल टेलिभिजनले डिजिटलाइजेशनलाई अझै बढाउन आवश्यक रहेको जिकिर गर्नुभयो । मुलुकको अधिकतम क्षेत्रका जनतासमक्ष सेवा पुर्याउन उपयुक्त र सुलभ प्रविधिको प्रयोगमा पनि ध्यान दिन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जंग शाहले टेलिभिजन पत्रकारिता मार्फत राष्ट्रिय दायित्व निर्वाह गर्दै आएको नेपाल टेलिभिजन देशको राजनीतिक र सामाजिक परिवर्तनको साक्षी मात्र नभइ राज्य र आम नागरिक बीच सम्वन्धको बलियो आधार भएको बताउनु भयो ।
यस्तै टेलिभिजनका महाप्रबन्धक फूलमान वल तामाङले टेलिभिजनले राष्ट्रिय प्रसारकका हिसाले निर्वाह गर्नुपर्ने दायित्व निर्भाह गर्दै आएको भन्दैं प्रविधि र विषयबस्तुमा समयअनुकुल रुपान्तरण गर्दै अघि बढेको बताउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्