‘एलएमसी अलर्ट’ मोवाइल एप सार्वजनिक

पाटन- ललितपुर महानगरपालिकाले ‘एलएमसी अलर्ट’ मोवाइल एप सार्वजनिक गरेको छ । महानगरका नागरिकका तथा विपद सम्बन्धि समस्या समाधान गर्ने उद्देश्यले उक्त ‘एप’को व्यवस्था गरिएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यहाँ आयोजित एक कार्यक्रमबीच ‘एलएमसी अलर्ट’ एप सार्वजनिक गर्नुभएको हो ।

महानगरले नागरिकका समस्या तत्कालै समाधान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको उक्त मोवाइल एप्लिकेसनमा अनलाइन तथा अफलाइन माध्यमबाट आफ्ना गुनासा तथा समस्या दर्ता गर्न सक्नेछन् ।

गुनासा तथा समस्या दर्ता गर्ने बित्तिकै महानगरको ‘प्रहरी कन्ट्रोल रुम’मा साइरन बज्नेछ । लगत्तै समस्या अनुसार नगरप्रहरी, दमकल र एम्बुलेन्स परिचालन गरिनेछ ।

घटनास्थलमा पुगेर नागरिकको सेवा गर्ने अभिप्रायले एप तयार गरिएको प्रमुख महर्जनले बताउनुभयो । एपमा नागरिकले २१ विषयका समस्या र गुनासा पठाउन मिल्ने छ ।

“स्मार्ट सिटी बनाउन गर्नुपर्ने काममध्येको यो एउटा हो”, उहाँले भन्नुभयो । यसका लागि चार स्थानमा विपद व्यवस्थापन शाखा सञ्चालन गरिने प्रमुख महर्जनले जानकारी दिनुभयो ।

एप सार्वजनिक कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले एपको माध्यमबाट नागरिकलाई सेवा प्राप्त गर्न सहज हुने बताउनुभयो ।

नगरप्रहरी प्रमुख सिताराम हाछेथुले विपद्को समयमा नागरिकले सहजै र छिटो सेवा प्राप्त गर्नुका साथै जनधनको क्षति रोक्न एप उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.