लुम्बिनी प्रदेश स्थापनाको छ बर्ष पुरा, आज स्थापना दिवस मनाईदै

दाङ- लुम्बिनी प्रदेश स्थापना भएको छ बर्ष पुरा भएको छ । लुम्बिनीले हरेक वर्ष माघ २१ लाई प्रदेश सभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रुपमा मनाउँदै आएको थियो ।

यस बर्ष दुईवटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ लाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय सरकारले गरेको हो । जसअनुसार आज लुम्बिनी प्रदेश राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा भब्य समारोहको आयोजना गरिएको छ ।

औपचारीक रुपमा दिवस मनाउन सरकारले सबै तयारी गरेको छ । प्रदेश सरकारले स्थापना दिवसको दिन आइतबार प्रदेशभर सार्वजनिक विदा समेत दिएको छ ।

प्रदेश स्थापनाको यो अवधीमा प्रदेश सभाबाट ऐन निर्माण गर्नेदेखि सरकारले जनसरोकारको पक्षमा काम गरिरहेको जनाएको छ । तर, संघियतालाई बलियो बनाउनेगरी प्रदेश सभा र सरकारबाट बनेका ऐन, कानुनहरु भने पूर्ण कार्यान्वयनमा आउन सकेका छैनन् ।

अहिलेसम्म प्रदेशले चार जना मुख्यमन्त्री र अन्य मन्त्री, सांसदहरु उत्पादन गरिसकेको छ । पहिलो पाँच बर्षे कार्यकाल प्रदेश संरचनाको जग बसाल्न समय विताएको र दोस्रो कार्यकालमा संघीय शासन व्यवस्था अन्तरगत प्रदेशको औचित्य पुष्टी गर्नेगरी काम गर्नुपर्ने जिम्मेवारी प्रदेश तहसंग छ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशको औचित्य पुष्टी गर्नेगरी प्रदेश सरकार जनताको घरदैलोमा पुग्न आफुले रोड म्याप तयार पारेको बताउनु भयो ।

प्रदेश सभाको पहिलो कार्यकालमा कानुन निर्माणलाई ध्यान दिएको थियो । जहाँ पाँच बर्षे कार्यकालमा प्रदेश सभाबाट ७२ वटा ऐन बने । तर, यसरी बनेका कतिपय ऐनहरु कार्यान्वयमा छैनन् । दोस्रो कार्यकालको एक वर्षको अवधिमा दुईवटा अधिवेसन पुरा भए ।

३५ वटा बैठकमा ५७ घण्टा ३३ मिनेट छलफल भयो तर, प्रदेशसभाले एउटा मूल विधेयक मात्रै बनाउन सक्यो । प्रदेश सभाको कामलाई प्रभावकारी बनाउन सभामुख तुलाराम घर्ती मगरले आफ्नो तर्फबाट सबैखाले प्रयासहरु गर्दै आउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.