२० वर्षदेखि कोठामा थुनिएका मङ्गलबाबुको उद्धार

गोरखा- २० वर्षदेखि कोठामा थुनिएका गोरखा नगरपालिका-५ नाङलेपानीका मंङ्गलबाबु सिर्मलको उद्धार गरिएको छ ।

गोरखा नगरपालिकाको समन्वयमा आइतबार मानव सेवा आश्रमले सिर्मलको उद्धार गरेको हो ।

उनको मानव सेवा आश्रमको कास्कीस्थित हेम्जा शाखामा राखेर उपचार हुने मानव सेवा आश्रमकी ब्यवस्थापक मुना लामाले जानकारी दिइन् ।

मनोचिकित्सकको प्रत्यक्ष रेखदेखमा उनको उपचार हुने लामाको भनाइ छ ।

बाहिर हिँडडुल गर्न नदिनका लागि मङ्गललाई थुनेर राखिएको कोठाको काठे ढोका बाहिर रेलिङसहितको अर्को फलामे ढोका जडान गरिएको थियो ।

कष्टकर अवस्थामा रहेका सिर्मलको उद्धार गरि उपचारका लागि पोखरा लगिएको हो ।

सिर्मलले २०५६ सालमा प्रवेशिका परीक्षा उत्तिर्ण गरेका थिए ।

२०५८ सालबाट उनमा मानसिक समस्या देखिएको उनकी आमा फिस्टी सिर्मलले बताइन् ।

झारफुकसहित विभिन्न अस्पताल पुर्‍याएर उपचार गराएपनि स्वास्थ्यमा सुधार हुन नसकेको फिस्टीले भनाइ थियो ।

छोरा मङ्गलको उपचारमा लाखौँ रकम खर्च भइसकेको आमा फिस्टीले जानकारी दिइन।

पाटन अस्पताल, अल्का अस्पताल, भरतपुर अस्पतालमा पटक-पटक पुर्‍याउँदा पनि स्वाथ्यमा सुधार नदेखिएपछि परिवारका सदस्य चिन्तित थिए ।

उनको स्वास्थ्य अवस्थावारे वुझेपछि गोरखा नगरपालिकाकी उपप्रमुख मसली मायाँ थोकर लगायतले उद्धारको लागि पहल गरेका थिए ।

आइतबार उपप्रमुख थोकर, मानसेवा आश्रमकी अभियन्ता मुना लामा लगायतका टोली मङ्गलबाबुको उद्धारका लागि गोरखाको नाङ्लेपानी पुगेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.