सहुलियतपूर्ण कर्जाको लागि प्रस्ताव पठाउन आग्रह

काठमाडौँ – सरकारले स्टार्टअप कर्जाको लागि प्रस्ताव माग गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सुचना जारी गरी २१ दिनभित्र सहुलियतपूर्ण कर्जाको लागि प्रस्ताव पठाउन आग्रह गरेको हो । यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप कर्जा सञ्चालन कार्यविधि, २०८० स्वीकृत गरेको थियो ।
कार्यविधि स्वीकृत भएसँगै प्रतिष्ठानले उक्त कर्जाका लागि प्रस्ताव आहृवान गरेको छ । सरकारले स्टार्टअपका लागि चालु आर्थिक वर्ष २५ करोड रुपैयाँ बजेट छुट्याएको छ । यो कर्जा अन्तर्गत मापडण्ड पुगेका व्यवसायीलाइ पाँच बर्षका लागि ३ प्रतिशत ब्याजदरमा परियोजना धितो राखेर अधिकतम २५ लाख रुपैयाँसम्म सरकारले ऋण दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
कार्यविधि अनुसार विभिन्न १४ क्षेत्रमा स्टार्टअप कर्जा लिन सकिने छ । कृषि तथा पशुपन्छी, वन पैदावर, पर्यटन प्रवद्र्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य, शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित परियोजनाले यो कर्जा पाउने छन् । यस्तै सहज र सुरक्षित यातायात तथा परिवहन, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाह, खानी तथा खनिज अनुसन्धान र विकास, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधनसँग सम्बन्धित परियोजनाले पनि स्टार्टअप कर्जा पाउने मन्त्रालयले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्