ट्रेड युनियनको दुरुपयोगले प्रश्न उठेका छन्: मन्त्री शर्मा

काठमाडौँ–  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ट्रेड युनियनको मर्म अनुसार काम नगरिँदा र यसको दुरुपयोग गरिदा समस्या भएको बताउनुभएको छ । ट्रेड युनियनको दुरुपयोग गरिँदा विभिन्न प्रश्न उठेका उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि जारी दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भन्नुभयो– “ट्रेड युनियनलाई सदुपयोग गरेको भए केही समस्या हुन्थेन, दुरुपयोग भएकाले समस्या भएको हो ।”

केही अत्यावश्यक भन्ने उल्लेख भए कानुनको पाटोबाट त्यसलाई मिलाउनुपर्ने मन्त्री शर्माको भनाइ थियो । “विधेयकमा कर्मचारीका विषयमा केही लेखिएको रहेछ भने पनि त्यसमा हेरौँला । अन्यथा केही थपट र उल्लेख गर्न परेन भन्ने लाग्छ ।”

त्यसअघि बैठकमा विधेयकमाथि संशोधनकर्ताका तर्फबाट सांसद महेश बर्तौलाले सुरक्षण मुद्रण राष्ट्रिय महत्वको विषय भएकाले नोटमा प्रयोग हुने कागज, मसीजस्तै पोलिमरलाई पनि समेट्नु उपयुक्त हुने सुझाव दिनुभयो । सुरक्षण मुद्रण राष्ट्रको गौरवसँग जोडिएका कारण संवेदनशील, विश्वसनीय र गोपनीयताको पाटोमा विशेष ख्याल पु¥याउन आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि प्राविधिक दक्षतासहित स्थायी, समर्पित र प्रतिबद्ध कर्मचारीको आवश्यकमा जोड दिनुभयो ।

“मुलुकमा सुरक्षण मुद्रणको अभावमा बर्सेनि रु १२ अर्बभन्दा बढी रकम विदेश गइरहेकाले त्यसलाई अन्त्य गर्न सदनले कानुनी पाटोबाट सहयोग पु¥याउनुपर्छ”, सांसद बर्तौलाले भन्नुभयो ।

हामीले भित्र्याउने सुरक्षण मुद्रणबाट विदेशीले पनि सेवा लिन सक्ने कानुनी व्यवस्थाको अहिले नै सुनिश्चित गर्नेतर्फ सोच्न सांसद बर्तौलाले समितिको ध्यानाकर्षण गराउनुभयो । सुरक्षित मुद्रण केन्द्र स्थापना गर्ने सोचअनुरुप सरकारले तीन वर्षअघि नै उक्त विधेयक दर्ता गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.