धरहराको भूमितगत पार्किङलाई लिएर बागदरवार र सिंहदरवारबीच विवाद के हो ?

काठमाडौँ – सवारी पार्किङको ठूलो समस्या रहेको काठमाडौं महानगरपालिकाको मुख्य बजार क्षेत्र न्यूरोडको पार्किङ व्यवस्थित गर्न महानगरले दुई साता अघि निर्माणाधिन धरहराको  भुमिगत पार्किङ खुला गर्यो ।

निशुल्क रुपमा पार्किङ गर्न सक्ने गरी खुला गरिएको पार्किङबाट सुविधा पुगेको भन्दै धेरैले खुसी पनि व्यक्त गरे । तर निर्माणाधिन संरचनामा पार्किङ खुला गर्न खतरामुक्त नहुने भन्दै शहरी विकास मन्त्रालयले गत साता उक्त पार्किङ बन्द गराउन पत्राचार गरेपछि राज्यका यी दुई निकायबीच विवाद देखिएको छ ।

काठमाडौं महानगरपालिकाले न्यूरोड लगायतका क्षेत्रमा जथाभावी रुपमा गरिदैं आएका पार्किङ बन्द गरेर धरहराको भूमिगत पार्किङ खोलेको थियो ।

साघुँरो न्यूरोडमा जथाभावी भइरहेको पार्किङ निषेध गरेर महानगरले पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं टावरको बहुतले भवनमा पार्किङ गर्न भनेको थियो । तर न्यूरोडका व्यवसायीले उक्त पार्किङ क्षेत्र टाढा भएको भन्दै असहमति जनाएपछि महानगरले गत हप्ताबाट धरहराको भूमिगत पार्किङको एक तलामा पार्किङ खुलाएको हो ।

तर मन्त्रालय र निर्माण जिम्मा पाएको निर्माण व्यवसायीसँग समन्वय नै नगरी पार्किङ खुलाएको भन्दै मन्त्रालयले महानगरको ध्यानाकर्षण गराउदै पत्र लेखे पछि बागदरवार भनिने महानगरपालिका र सिंहदरवारबीच विवाद चुलिएको छ ।

महानगरपालिकाले पार्किङ सुरु गरेको धरहरा क्षेत्रको निर्माण शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई मार्फत भइरहेको छ । भूमिगत पार्किङमा भेन्टिलेसन लगायतका सुरक्षासंग जोडिएका महत्वपूर्ण काम बाँकी नै भएकाले मानवीय दृष्टिले जोखिमपूर्ण भएको भन्दै पार्किङ स्थगित गर्न पनि मन्त्रालयले भनेको छ ।

मन्त्रालयले तीन महिना भित्र बाँकी सबै काम सक्ने पनि बताएको छ । तर पटक पटक म्याद थपेर पनि काम अलपत्र पारी समस्या बल्झाइरहेको भन्दै महानगरको नेतृत्वले सरकारसंग असन्तुष्टी व्यक्त गरिरहेको छ । दुबै निकायका अधिकारीले विवादलाई छलफल र सहमतीबाटै निकास दिएर आमनागरिकलाई सहजता दिन लागिरहेको बताएकाले अब चाडै निकास निस्कने अपेक्षा भने गर्न सकिन्छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.