यात्रु ठग्ने होटललाई एक लाख रुपैयाँ जरिवाना

धादिङ- पृथ्वी राजमार्ग छेउमा सञ्चालन हुँदै आएको एक रेष्टुरेन्टलाई स्थानीय प्रशासनले रु. एक लाख जरिवाना गरेको छ । २० रुपियाँ मुल्य पर्ने दुईवटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएपछि धादिङको गल्छि गाउँपालिका वडा नम्वर –७ मासटारमा रहेको ह्याम्लेट रेष्टुरेन्टलाई जिल्ला अनुगमन समितिले जरिवाना गरेको हो ।

पृथ्वी राजमार्ग आसपासमा सञ्चालित होटलहरुले महंगो मूल्य असुल्ने गरेको भन्ने जनगुनासो आउन थालेपछि पछिल्लो समय राजमार्गमा सञ्चालन हुँदै आएका होटल, किराना पसल र क्याफेलाई विशेष निगरानीमा राखी अनुगमन सुरु गरेको अनुगमन समितिका संयोजक एवं धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताउनुभयो ।

ह्याम्लेट रेष्टुरेन्टलाइ भने उपभोक्ताबाट गुनासो आएपछि चाउचाउ पकाएर खाएको पैसा तिरेको बिलसहित जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेपछि अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कार्वाही गरेको पराजुलिले बताउनुभयो ।

यसैगरी गल्छि गाउँपालीकाकै नवोदिप स्टोर र रिभर भ्यू क्याफेलाई दश-दश हजार रुपैयाँ जरिवाना गरिएको छ । विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पनि पालना नगरेको र अधिकतम मूल्य लिएकाले ति रेष्टुरेन्टहरुलाई जरिवाना गरिएको हो ।

पछिल्लो समय एमआरपीमा उपभोक्ता ठगिने गुनासोहरु आउने गरेको पनि जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । स्थानीय प्रशासनले अबका दिनमा महंगो मूल्य असुल्ने ब्यपारीहरु केन्द्रित अनुगमन गर्ने जानकारी दिएको छ ।

यसका लागी उपभोक्ताले खरिद बिल र प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन सक्नेछन् । स्थानीय प्रशासनले उपभोक्ताहरूलाई पनि तोकिएको मूल्य भन्दा बढीमा सामान खरिद नगर्न अनुरोध गरेको छ ।

अधिकतम खुद्रा मूल्यभन्दा बढीमा सामान बिक्री गरेको देखिएमा कालोबजारी र ठगी अभियोगमा मुद्दा चलाइने पनि अनुगमन समितिका संयोजक पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.