अशक्तलाई घरमै पुगी नागरिकता

धादिङ- गजुरी गाउँपालिका–८ ठूलो बाङ्गेका ७४ वर्षीया कान्छिमायाँ तामाङ हिंडडुल गर्न सक्नुहुन्न । खानपीन र शौचालय समेत अरुकै सहारा माग्नुपर्छ । उमेरले डाँडापारीको घाम बनेपनि नागरिकता नबन्दा सरकारले दिने सेवा तथा सुविधाबाट उहाँ अहिलेसम्म बञ्चित हुनुहुन्थ्यो ।

जिल्ला प्रशासन कार्यालय धादिङले घरमै आएर नागरिकता बनाइदिएपछि उहाँ अहिले दङ्ग हुनुहुन्छ । ‘यो जुनीमा मेरो नागरिकता बन्ला भनेर सोचेकै थिइन । सरकार मेरै घरमा आएर नागरिकता बनाइदियो’ उहाँ भन्नुहुन्छ– ‘पहिले नागरिकताको महत्व नै बुझिएन । सरकारले सामाजिक सुरक्षा भत्ता दिने बेला नागरिकताको खोजी भयो । नागरिकता बनाउन जिल्ला प्रशासन जान नसक्दा सरकारले दिने सेवाहरु समेत पाइन । अहिले नागरिकता बन्यो, सरकार मैसँग रहेछ भन्ने मनमा लागेको छ । घरमै आएर नागरिकता बनाइदिने प्रशासन र जनप्रतिनिधिहरुलाई मेरो धन्यवाद छ ।’

ठूलो बाङ्गेकै ६९ वर्षिय सुनिता गोले पनि हातमा नागरिकता परेपछि अचम्ममा पर्नुभएको छ । घर छाड्न नसक्ने अति असक्त उनीहरुलाई जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेसहितको टोली घरमै पुगेर नागरिकता वितरण गरेपछि सरकारले दिने सेवा तथा सुविधा लिने बाटो खुलेको हो । घरमै आइ नागरिकता दिएर राष्ट्रिय परिचय पत्र बनाउने प्रक्रिया अघि बढाइदिएपछि उनीहरु दंग बनेका हुन् ।

असक्त, वृद्धवद्धा, अपाङ्गता भएकाहरुलाई जिल्ला प्रशासन कार्यालयले घरघरमै पुगेर नागरिकता वितरण अभियान थालेको छ । सोही अनुरुप गजुरी गाउँपालिका–८ बाङ्गेकी कान्छिमायाँ तामाङ, सुनिता गोले र नवराज थोक्रा तामाङ गरी तीन जनालाई घरमै पुगेर प्रशासनले नागरिकता वितरण गरेको हो ।

नागरिकता लिन योग्य तर प्रशासनसम्म पुग्न नसक्ने असक्त वृद्धवृद्धा, अपाङ्गता भएकाहरुलाई घर दैलोमै पुगेर नागरिकता दिने कामको सुरुवात गरिएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गैह्रका अनुसार सबै पालिकालाई विवरण पठाइदिन अनुरोध गरेको र सोही अनुसार गजुरी गाउँपालिका– ८ मा आएर नागरिकता प्रदान गरिएको हो । नागरिकतासँगै राष्ट्रिय परिचयपत्रका काम पनि घरदैलोमै गरिदने व्यवस्था मिलाएको उहाँको भनाइ छ ।

नागरिकता बनाउन सदरमुकामसम्म लैजान ठूलै प्रयास हुँदा पनि नसकिएकोले घरमै नागरिकता वितरण गर्नुपरेको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको भनाई छ ।

एकजना अपाङ्गता भएका र दुई जना असक्त वृद्धाहरु गरी तीनै जनालाई एम्बुलेन्समा लगिदिन्छौं भन्दा पनि मानेनन् । प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेपछि अहिले घरमै आएर नागरिकता वितरण गरियो । पालिकाभित्र अन्य वडामा पनि नागरिकता बनाउन बाँकी रहेकाहरुको विवरण संकलनको काम गरिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.