नेपालको चारधाम मध्येकै एक धाम बैद्यनाथ क्षेत्रमा १४४ बर्षपछि कोटीहोम
अछाम- अछामको बैद्यनाथ क्षेत्रलाई नेपालका चारधाम मध्येको एक धामका रुपमा स्थापित गर्न १४४ बर्षपछि कोटीहोम आयोजना गरिदैँछ ।
जिल्लाको साँफेबगर नगरपालिका वडा नं १ मा अवस्थित बैद्यनाथ क्षेत्र स्कन्द पुराणमा नेपालका चारधाम मध्येको एक भन्ने ईतिहास भएपनि सरकारले कागजी रुपमा यसलाई मान्यता नदिएको कारण कोटीहोमको आयोजना गरिएको मुल आयोजक समितीका संयोजक एवंम पूर्व मन्त्री तथा अछाम क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य शेर बहादुर कुँवरले बताउनुभयो ।
पवित्रस्थल बैद्यनाथ क्षेत्र स्कन्द पुराणको मानसखण्डमा नेपालका चारधाम मध्येको एक धामका रुपमा उल्लेख भएपनि त्यसको नेपालीमा व्याख्या नभएका कारण सरकारले कागजी रुपमा धाम उल्लेख नगरेको उहाँको भनाइ छ ।
बैद्यनाथ क्षेत्रलाई राज्यले सुनुवाई नगरेका कारण देशको प्रमुख व्यक्ति राष्ट्रपतिलाई अछाममा निमन्त्रण गरेर कोटीहोमको उद्घाटन गर्न लागिएको संयोजक कुवँरको भनाई छ । यहि फागुन १० गते कोटीहोमको राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गरी बैद्यनाथ क्षेत्रलाई देशव्यापी बनाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा यसको व्यापक प्रचार गर्ने उहाँले बताउनुभयो ।
पौराणिक दृष्टिकोण र पुराणमा समेत बैद्यनाथ क्षेत्र स्पष्ट रुपमा नेपालका चारधाम मध्येको एक रहेको बैद्यनाथ बेद बिश्रामका प्राचार्य तथा कोटीहोम मुल आयोजक समितिका महासचिव देवराज उपाध्यायले बताउनुभयो ।
ग्रेटर नेपालको बौद्धिक तथा पौराणिक बिभाजनमा स्पष्ट रुपमा नेपाल पाँच भागमा बिभाजन रहेको र त्यस बिभाजनमा मानसखण्ड, हिमवत् खण्ड, केदारखण्ड, जालन्दर खण्ड र किसन्दा खण्ड रहेकोमा हाल चार खण्ड छन् ।
जसमा मानसखण्ड अन्र्तगत बैद्यनाथ क्षेत्र नेपालका अन्य तीन धाम जस्तै एक धामको रुपमा उल्लेख छ । पशुपति क्षेत्र, मुक्तीनाथ क्षेत्र, बैद्यनाथ क्षेत्र र त्यसपछि बराह क्षेत्र धामको रुपमा रहेपनि सरकारले कागजी रुपमा बैद्यनाथ क्षेत्र घोषणा नगरी मुक्तीनाथ क्षेत्र नजिकैको रुरु क्षेत्रलाई धामको रुपमा राखिएको उपाध्यायले बताउनुभयो । त्यति नजिक दुई धाम हुन नसक्ने उहाँको भनाई छ ।
शंकराचार्यले आज भन्दा २७ सय बर्ष पहिले नै बैद्यनाथ क्षेत्रलाई नेपालका चारधाम मध्येको एक धामका रुपमा मानसखण्डमा उल्लेख गरेपनि व्याख्या नभएका कारण ओझेलमा परेको उहाँले बताउनुभयो ।
फागुन १० गतेदेखि अछामसहित बैद्यनाथ क्षेत्र सिंगो देशको मुल केन्द्रमा रहने आयोजकको अपेक्षा छ भने जिल्लामा राष्ट्रप्रमुख आउनु र बैद्यनाथ क्षेत्रमा हुने कोटीहोमको उद्घाटन गर्नुसमेत आँफैमा एक महत्वपूर्ण उपलब्धी हुने समेत अपेक्षा गरिएको छ ।
१४४ बर्ष अर्थात डेढ शताब्दी आफै एक ईतिहास भएको भन्दै संयोजक कुँवरले कोटीहोम गर्न र देख्न पाउने अहिलको पुस्ता भाग्मानी भएको बताउनुभयो । बैद्यनाथ क्षेत्रको सत्यतथ्य कुरा उजागर गरी महत्वपूर्ण सन्देश दिन नेपालका प्रख्यात जगत गुरु देखि बिभिन्न धार्मिक व्यक्तीत्वहरुलाई आमन्त्रण गरिएको छ ।
कोटीहोममा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री सासद, सुरक्षा निकायका प्रमुखहरुलाई समेत आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।
कोटीहोम सफल पार्न १९१ सदस्यि मुल आयोजक समिती, ३७ वटा उपसमिती र ९ सदस्यि कार्य सम्पादन समिती गठन गरी काम अघि बढिरहेको आयोजकले जनाएको छ । कोटीहोममा १५५ जना ब्राहमण सहभागी हुने र १२५ जनाले दैनिक हवन गर्ने बताईएको छ ।
प्रतिक्रिया राख्नुहोस्