कांग्रेसका कार्यकर्ताले रुखमै भोट हाल्ने अवस्था सुनिश्चित गर्छौँ : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने बताउनु भएको छ । जारी महासमिति बैठकमा सांगठानिक प्रतिवेदन पेस गर्दै थापाले यस्तो बताउनु भएको हो ।
‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौँ ‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं।’ महामन्त्री थापाले भन्नु भयो ।
थापाले कांग्रेसको अभियानलाई सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभुत गराउनेछौं । अवसर पाएको बेला अव्वल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौं ।”
महामन्त्री थापाले कांग्रेसलाई लोकतन्त्रमा आस्थावानहरूको एकमात्र विश्वासीलो र आम जनताको भरपर्दो पार्टी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । महामन्त्री थापाले आन्तरिक प्रतिस्पर्धामा गुटगत भिन्नता देखिएपनि सार्वजनिक हितका विषयमा एकजुट भएर लाग्ने सामूहीक भावना कांग्रेसमा रहेको बताउनुभयो ।
गठबन्धनबारे बोल्दै महामन्त्री थापाले तत्कालीन सरकारले पटक पटक असंवैधानीक ढंगले प्रतिनिधिसभा विघटन गरेपछि गठबन्धनको परिस्थिती बनेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो–“एक विशिष्ट परिस्थितीमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँचदलिय गठबन्धनको नेतृत्वगर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको थियो । त्यसैको निरन्तरता स्वरुप पार्टीले लोकतन्त्र र संविधानको रक्षार्थ र स्थिरताका लागि निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको थियो ।”
सरकार र पार्टीको सम्बन्धमा सबै तहमा केही न केही समस्या भएपनि ती समस्या समाधानका लागि छलफलका माध्यमबाट पार्टी अघि बढ्ने महामन्त्री थापाले जिकिर गर्नुभयो
महामन्त्री थापाले महासमिति बैठकमा पेश गरेको प्रतिवेदनको पूर्ण पाठ
प्रतिक्रिया राख्नुहोस्