सोह्र महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र

बागलुङ- सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ ।

विसं २०७४ माघ महिनामा सक्ने गरी निर्माण सुरु भएको मोटरेवल पुलको ४० प्रतिशत मात्रै काम सकिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेवल पुल यतिबेला बेवारिसे अवस्थामा पुगेको हो ।

पुलको दुईतिर पिलर उठाएको वर्षौँ भए पनि अरु काम भने हुनसकेको छैन । २०७३ असोज ४ गते वाइटी रफिना जेभी कन्स्ट्रक्सनले पुल बनाउने जिम्मा लिए पनि काम गरेन । लामो समयसम्म निर्माण कम्पनीले काम नगरेपछि गत वर्ष मङ्सिर २८ गते ठेक्का तोडियो । ठेक्का तोडिएपछि अब पुल बन्छ कि बन्दैन भन्ने अन्योल सिर्जना भएको छ ।

सडक डिभिजन कार्यलयमार्फत निर्माण हुन थालेको पुललाई निर्माण कम्पनीले अलपत्र पारेपछि अब कहिले काम सुरु हुन्छ भन्ने निश्चित छैन । सोह्र महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको पुलको काम ४० प्रतिशतमै भएको सीमित छ ।

वर्षौँअघि निर्माण भएको पुलको संरचना भूजीखोलामा आएको बाढीले भत्काइदिएको छ । बाढीले लाखौँको संरचनामा क्षति पुर्‍याएपछि पुल सुरुकै चरणबाट काम गर्नुपर्ने अवस्थामा छ । पुल बन्न लागेपछि खुसी भएका अधिकारीचौर, नाथुरी लगायतका गाउँका नागरिक अहिले अलपत्र अवस्थामा पुगेपछि दुःखी बनेका छन् ।

कृषि गाउँका रुपमा रहेका अधिकारीचौर र नाथुरीगाउँका हजारौँ किसान पुल नबन्दा मारमा परेका छन् । डेढ दशकअघि गाउँमा मोटरबाटो पुगेपछि सिङ्गो गाउँनै व्यावसायिक तरकारी खेतीमा लागेको छ ।

यतिका समयसम्म मोटर गुड्ने पुल नबन्दा यस क्षेत्रका तीन सय घरधुरीका किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन समस्या भएको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका किसान कृष्ण कँडेलले बताउनुभयो ।

भूजीखोलामाथि निर्माण थालिएको पुल नबन्दा अधिकारीचौर, नाथुरी, भैँसीखर्क, घैयाखेत र बाहुनगाउँका हजारौँ नागरिकले सास्ती खेप्नु परेको उहाँको भनाइ छ । हिउँदको समयमा खोला सानो हुँदा गाडी वारपार गर्न सके पनि बर्षाको समयमा भने ठप्प हुने गरेको कँडेल बताउनुहुन्छ ।

हिउँदमा गाउँमै गाडी आएर उत्पादित तरकारी बजारमा पुर्‍याउन सहज भए पनि बर्षायाममा सकस हुने उहाँको भनाइ छ ।

पुल सङ्घीय सरकारले विनियोजन गरेको रु तीन करोड ५० लाखको लागतमा निर्माण हुन थालेको थियो । निर्माण कम्पनीले काम गर्न अटेरी गरेपछि गत वर्ष ठेक्का सम्झौता तोडेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इञ्जिनीयर अमर अधिकारीले जानकारी दिनुभयो ।

निर्माण कम्पनीको पेश्की जमानतसमेत जफत गरिएको उहाँको भनाइ छ । उक्त कम्पनीले ४० प्रतिशत मात्रै काम गरेको छ । त्यसमा पनि बाढीले ठूलो क्षति पुर्‍याएको उहाँ बताउनुहुन्छ । अब पुलको काम सुरु गर्नका लागि नयाँ डिजाइन गर्नुपर्ने भन्दै त्यसका लागि परामर्शदाता कम्पनी आह्वान गरेको सूचना अधिकारी अधिकारीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.