धौलागिरी पवित्र तपोभूमि : राष्ट्रपति पौडेल

बाग्लुङ- राष्ट्रपति रामचन्द्र पौडेलले धर्म, संस्कृतिले धौलागिरी क्षेत्र पवित्र तपोभूमि रहेको बताउनुभएको छ ।

पवित्र शालिग्राम पाइने कालीगण्डकी नदी, मुक्तिक्षेत्र, पञ्चकोट, गलेश्वरधाम र कालिका मन्दिरले धाौलागिरी क्षेत्र एक पवित्र धार्मिक तपोभूमि रहेको बताउनुभएको हो ।

बिहीबार बागलुङ नगरपालिका-६ सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित अनन्त श्री ब्रामाण्डीय महायज्ञलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले धौलागिरि क्षेत्रमा पछिल्लो समय पञ्चकोटको महत्व र महिमा बढेको बताउदै पाँच कोटको संगमस्थलमा यो वृहत संरचना देखेर आफूलाई खुशी लागेको बताउनुभयो ।

“धौलागिरी क्षेत्र आफैमा तपोभूमि हो, मुक्तिक्षेत्र, दामोदर कुण्ड, गलेश्वर धामसँगै अहिले पञ्चकोटकोे नाम आइरहेको छ, म पहिला शालिग्राम संग्रहालय आएको थिए, नदी र जल सम्पदाको संरक्षणमा यो महायज्ञ आयोजना भएको मैले पाएँ” राष्ट्रपति पौडेलले भन्नुभयो- “कुडुँलेमा सवा लाख शालग्राम दर्शन गरेको थिएँ, अहिले यो पवित्र भूमि पञ्चकोट आउँदा आफूलाई खुशी लागेको छ, महायज्ञले धार्मिक प्रसार मात्रै गरेको छैन, जल संम्पदा, संकटमा रहेको शालिग्रामलाई जोगाउन थालेको छ ।”

संस्कृत, परम्परा, मुल्य र मान्यताले नेपालीलार्ई एकताबद्ध बनाएको उल्लेख गर्दै उहाँले नेपालका नदीहरु पवित्र रहेको बताउनुभयो ।

“यो पञ्चकोट एउटा खाली पहाड अहिले शान्तिभूमि भइसकेको रहेछ, यो शान्तिभूमि पञ्चकोटमा धार्मिक पर्यटकहरुको भीड लागेको देखेको छु” उहाँले भन्नुभयो “पञ्चकोटले धार्मिक पर्यटक भित्राएर आयआर्जन बढाउदै समृद्ध बागलुङ बनाउन सहयोग पु¥याउनेछ ।”

महायज्ञले जल संम्पदालाई बचाउन महत्वपूर्ण भूमिका खुल्ने उहाँको भनाइ थियो । सर्वसिद्धीधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ ९ गतेदेखि सञ्चालित छ ।

पञ्चकोटका संस्थापक एवं यस महायज्ञका परिकल्पनाकार मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको आह्वानमा सुरु भएको यस महायज्ञको मुक्तिनाथदेखि नवलपारासीको त्रिवेणीधामसम्मका नौ वर्षीया एक सय आठ कन्याबाट बुधबार शुभारम्भ गरिएको थियो ।

नेपालमा पहिलो पटक आह्वान गरिएको यस ब्रह्माण्डीय महायज्ञ यही फागुन २३ गतेसम्म सञ्चालन हुनेछ ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले पाँच हजार पाँच सय ५५ किलोको महाघण्टको उद्घाटन गर्नुभएको छ । विश्वमा शान्तिको सन्देश दिने उद्देश्यसहित देश दर्शन गरेर सो महाघण्ट पञ्चकोटमा स्थापित गरिएको छ ।

त्यसैगरी महायज्ञ अन्तर्गत १५ दिनमा विभिन्न फरक फरक विषयमा विज्ञहरुका कार्यपत्र तथा विचारसहितका सम्मेलन पनि हुने कार्यक्रम रहेको छ ।

महायज्ञमा संकलन भएको रकमले पञ्चकोटमा १०८ फिट अग्लो विश्वशान्ति कलश निर्माणलाई पूर्णता दिइने छ ।

हाल सम्म पञ्चकोटमा रु ५० करोड भन्दा बढीको भौतिक संरचना निर्माण भइसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.