पूर्वी अफगानिस्तानमा दुई जनालाई सार्वजनिकरूपमा मृत्युदण्ड
काठमाडौं- पूर्वी अफगानिस्तानको एउटा फुटबल रङ्गशालामा दुई व्यक्तिलाई सार्वजनिकरूपमा मृत्युदण्ड दिइएको छ । तालिबान सत्तामा फर्केपछिको यो तेस्रो र चौथो मृत्युदण्डको सजाय हो ।
गजनी प्रान्तका सूचना तथा संस्कृति विभागले एक सार्वजनिक सूचनामा ‘आँखाको बदला आँखा’ सरहको किसास सजायको मृत्युदण्ड भएको बताएको छ । यद्यपि प्रारम्भमा कैदी वा उनीहरूको अपराधका बारेमा विवरण दिइएको थिएन ।
सन् १९९६ देखि सन् २००१ सम्म तालिबानको पहिलो शासनको समयमा सार्वजनिक मृत्युदण्ड सामान्य थियो । सन् २०२१ अगस्टमा सत्तामा फिर्ता भएपछि तालिबानले अन्य दुई जनालाई मात्र मृत्युदण्ड दिएको छ । दुवै मृत्युदण्ड हत्याको अपराधका लागि थिए ।
चोरी, व्यभिचार र मदिरा सेवनसहित अन्य अपराधहरूका लागि नियमितरूपमा सार्वजनिकरूपमा कोर्रा हान्ने सजाय दिइने गरिएको छ । तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले गत वर्ष न्यायाधीशहरूलाई शरियाका सबै पक्षहरू पूर्णरूपमा कार्यान्वयन गर्न आदेश दिनुभएको थियो । यसमा किसासको सजाय पनि सामेल छ ।
अन्तिमपटक सन् २०२३ जुनमा मृत्युदण्ड दिइएको थियो । एक दोषी हत्यारालाई करिब दुई हजार मानिसको अगाडि लघमान प्रान्तको मस्जिदको मैदानमा गोली हानी मारिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्