संसद्मा संयमता र धैर्यताका साथ प्रस्तुत होऔँ : नेता लेखक

काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा कुनै पनि अवरोध नगरी संयमता र धैर्यताका साथ प्रस्तुत हुन प्रतिपक्षी दलहरुलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकको प्रारम्भमा सम्बोधन गर्दै उहाँले संसद्लाई बढीभन्दा बढी प्रभावकारी बनाउन अनुरोध गर्नुभयो ।

जनताले यही संसद्बाट मुलुकको समृद्धिको आशा राखेका उल्लेख गर्दै सांसद लेखकले सदनलाई स्वस्थ्य, सभ्य, मर्यादित र जिम्मेवारी बनाउन आग्रह गर्नुभयो । “सदन प्रभावकारी हुन सकेन भने त्यसको प्रत्यक्ष प्रभाव सरकारमाथि पर्न सक्छ । सरकार पनि निष्प्रभावी बन्न सक्छ । संसद्को प्रभाव संविधान र व्यवस्थामाथि पर्न सक्छ”, उहाँले भन्नुभयो ।

संसद्मा आलोचना, प्रतिआलोचना र घोचपेच हुने उल्लेख गर्दै सांसद लेखकले यी विषयलाई सामान्यरुपमा लिनुपर्ने बताउनुभयो । संसद्मा सबै सांसद आफ्ना कुरा राख्नका लागि धैर्य र अरुका कुरा सुन्नका लागि संयमित हुनुपर्छ भन्दै उहाँले भन्नुभयो, “सदनभित्र प्रतिपक्षले सरकारले आलोचना गर्छ, माग गर्छ, त्यो प्रतिपक्षको धर्म हो । प्रतिपक्षले आलोचना गर्यो भनेर सत्तापक्ष आक्रोशित हुनुपर्दैन ।”

प्रतिपक्षी सरकार कुरिरहेको पार्टी हो भन्दै प्रमुख सचेतक लेखकले प्रतिपक्षका बारेमा पनि सत्तापक्षका केही धारणा रहेको हुनसक्ने र त्यो अभिव्यक्ति हुँदैमा प्रतिपक्षी आतङ्कित हुनु नपर्ने बताउनुभयो । “सरकारले चालु अधिवेशनमा धेरै विधेयक तयारी गरेको छ । यो अधिवशेनबाट धेरै विधेयक पारित गर्नुछ । जनतालाई यही संसद् र व्यवस्थाले हित गर्नसक्छ भन्ने विश्वास दिलाउनु छ । हामी सबै मिलेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सरकारसँग जोडिएका विषयमा प्रतिपक्षले सरकारको जवाफ माग गरेको उल्लेख गर्दै त्यसको प्रतिरक्षाको तहमा कुनै सांसद उभिन नहुने बताउनुभयो । उहाँले अब बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलले उठाएका सरोकारका विषयमा सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.