मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण

काठमाडौँ- राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले मिटरब्याज पीडित न्यायका लागि सङ्घीय राजधानी आउनु दुःखद् भएको उल्लेख गर्दै भएको कानुन कार्यान्वयन गरी पीडितलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभयो ।

सांसद तुलसाकुमारी दाहालले मिटरब्याज पीडित न्यायका लागि काठमाडौँमा आएका बताउँदै त्यस सम्बन्धमा कानुन बने पनि कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको उल्लेख गर्नुभयो । सांसद नारायणदत्त मिश्रले सहकारी पीडितले आफ्नो बचत फिर्ता पाउन नसकेको सन्दर्भमा सरकारले दिएर भए पनि पीडितलाई न्याय दिनुपर्ने भन्दै दोषीलाई कारबाही गर्न माग गर्नुभयो । सांसद जगतबहादुर पार्कीले वर्तमान सरकारले सुशासनका काम गर्दै आएको र सिङ्गो राष्ट्रलाई समृद्धितिर लैजान खोजेको बताउनुभयो ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले लुम्बिनीको विमानस्थल सञ्चालन हुन नसक्दा जनता पीडित भएको बताउँदै सञ्चालनको वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सद तुलबहादुर विश्वकर्माले वर्तमान सरकारले मुलुकभरका अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गर्नका लागि पठाएको निर्देशनको प्रसंशा गर्नुभयो । सांसद खिमलाल देवकोटाले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निष्कर्षमा पुयाउन सरोकारवाला सबैको ध्यानाकर्षण गराउनुभयो ।

सांसद डा विमला राई पौड्यालले केही समय अघिसम्म नेपालमा चिकित्सा शिक्षाको राम्रो छाप रहेको बताउँदै नियमनको लागि ल्याइएका नयाँ मापदण्डले चिकित्सा शिक्षालाई सङ्कुचन गरेको उल्लेख गर्नुभयो । राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्तुत गर्नुभएको ‘विधायन सम्बन्धी विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सभा समक्ष पेश गर्नुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही फागुन १४ गते सोमबार विहान ११ः०१ बजे बस्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.