अधिकारको लागि हिप-हप मेला
काठमाडौँ- अमेरिकी दुतावास काठमाण्डौले हिप-हप संस्कृति र सामाजिक परिवर्तन र अल्पसंख्यक अधिकारको लागि हिप-हप मेला – खुलौं, बोलौं (काठमाडौं) कन्सर्टको आयोजना गर्यो ।
होटल अन्नपूर्ण, दरबारमार्गमा दिउँसो आज आयोजित हिप-हप मेलामा अमेरिकी र नेपाली कलाकारहरुले हिप-हप संस्कृतिको र्याप तथा डान्सको बेजोड प्रस्तुती गरे । हिप- हप मेलामा नेपालका लागि अमेरिकी राजदुत डि आर थम्पसन सहभागि भएर कलाकारहरुलाई प्रेरणा प्रदान गर्नु भयो ।
कन्सर्टको नेपाली सांकेतिक भाषा अनुवादकहरू सांकेतिक भाषामा प्रस्तुत गरेका थिए।मेलामा नेपाली र अमेरिकी कलाकारहरूले नेपाली परम्परागत धुनहरू र हिप-हपबीचको मिलन गरी सुन्दर सांगीतिक सिर्जना गर्न सहकार्य गरेका थिए ।
काठमाडौं स्थित अमेरिकी दूतावासले नेपाल हिप-हप फउण्डेशन सँगको सहकार्यमा, वर्ड बिट एण्ड लाइफबाट ४ जना अमेरिकी कलाकारहरू – शान्ना, सबस्टेन्शियल, डीजे फ्लेग र माजी मुताफासँग नेपाली लाउरे, ब्याड कम्पनी, प्रोफेसर ट्रेक्स ,भ्यायोमी, कुटुम्ब र अमाजुमी लगायतका ब्याण्डका र्यापर, डान्सर, र कलाकारहरूसँग साझेदारी गराएको हो ।
हिप-हप संस्कृति र यसको ऐतिहासिक महत्वलाई सामाजिक परिवर्तन र अल्पसंख्यक समुदायको अधिकारका लागि अभिव्यक्ति स्वतन्त्रताको शक्तिशाली माध्यमको रूपमा उपयोग गर्न दुतावासले अमेरिकी र नेपाली हिप-हप कलाकारहरूसँग सहकार्य गराएको हो ।
अमेरिकी र नेपाली हिप-हप संस्कृति बीचको यो एकीकरणले कलाकारहरूको लागि विभिन्न प्रविधि र शैलीहरू प्रयोग गरेर उनीहरूको रचनात्मक विचारहरू साझा र सुधार गर्न ठाउँ सिर्जना गरेको अमेरिकी दुतावासले जनाएको छ ।
नेपाली र अमेरिकी विच जनस्तरको सम्बन्ध विस्तार र सांस्कृतिक आदान प्रदानको लागि हिप हप सम्बन्धी कार्यशाला र कन्सर्ट तथा मेला आयोजना गरिएको दुतावासले जनाएको छ । नेपाली र अमेरिकी सङ्गीतको सांस्कृतिक आदानप्रदानले कलाकारहरूलाई यी दुई फरक कला विधा र तत्वहरूबीचको भिन्नता र समानताबारे जान्नको लागि उत्तम अवसर प्रदान गरेको दुतावासको बुझाइ छ ।
प्रतिक्रिया राख्नुहोस्