चुँदीरम्घालाई राष्ट्रिय एकताको केन्द्र बनाउन राष्ट्रपतिको जोड

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई सिङ्गो नेपालको प्रतिविम्ब झल्कने गरी राष्ट्रिय एकताको केन्द्र र संसारभरिका नेपाली एकपटक पुग्नैपर्ने साहित्यिक तीर्थस्थलका रुपमा विकास गरिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

भानु साहित्य उद्यानको सहकार्यमा भानु नगरपालिकाद्वारा आयोजित भानु साहित्य उद्यानको गुरुयोजना अवधारणापत्र एवं परामर्श कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले देशका सातै धाम एकै ठाउँमा निर्माण गरेर नेपालका नेपाली, नेवारी, मैथिली, भोजपुरी, अवधी, राई, लिम्बू तामाङ, गुरुङ मगर सबै भाषाका साहित्यिक प्रतिभालाई एकै ठाउँमा राखेर कलात्मक र प्राकृतिक सौन्दर्यसहित आर्थिक सहयोग जुटाएर गुरुयोजनाअनुरुप भानु साहित्य उद्यान निर्माणको परिकल्पनालाई साकार पार्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

आदिकवि भानुभक्तको प्रतिमा केन्द्रमा राखेर अन्य भाषाभाषीका आदिकवि, ती भाषाका विशिष्ट साहित्यिक व्यक्ति र आ-आफ्ना मातृभाषामा विशिष्ट रचना गर्ने कविहरूको प्रतिमा स्थापना गरी चुँदीरम्घालाई विभिन्न भाषाका कविहरूको फूलबारी बनाउँदै एउटा विशिष्ट साहित्यिक तीर्थस्थलको रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।

साहित्यिक तीर्थयात्रीका निम्ति चुँदीबेँसी, भानु स्मृति भवन, रम्घाको डाँडो, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मथलो अर्घौअर्चले, जनकवि केशरी धर्मराज थापाको बाटुलेचौर र लोकगायक अलि मियाको जन्मस्थल कुँडहर हुँदै राष्ट्रकवि माधव घिमिरेको घर पुस्तुन लमजुङ, मानुङ विविध भानुस्मृति स्थल संयोजन गरी एउटा भानु परिपथ बनाउन सकिने र परिपथले भानुभक्तका स्मृतिलाई चिरकालसम्म जीवन्त बनाई राख्ने उहाँको भनाइ थियो ।

आफूले दार्जिलिङ र सिक्किमको भ्रमणका बेला यस्तो उद्यानको परिकल्पना गरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले चुँदीरम्घाको डाँडामा सिक्किममा चार धाममा शिवजीको मूर्ति राखे जस्तै ठूलो बाटुलो भवनकोे धुरीमा भानुभक्तको प्रतिमा राखेर चारैतिर देखिने गरी अर्थात् दक्षिणमा बन्दीपुर, छिम्केश्वरी, पश्चिममा मानुङ, तनहुँसुर, उत्तरमा मिर्लुङकोट र तुर्लुङकोट, पूर्वमा लिगलिगकोट हुँदै गोरखा कालिका र मनकामनाबाटसमेत देख्न सकिने बनाऔँ भनेर अवधारणा सारेको स्मरण गर्नुभयो ।

विश्वभरिका नेपालीहरूको सुझाव र सहयोग जुटाएर गुरुयोजनाअनुरुपको निर्माण कार्य गर्न उहाँले सुझाव दिनुभयो । “यो उद्यान संसारभरि छरिएका नेपालीहरूले जीवनमा एक पटक पुग्नै पर्ने साहित्यिक तीर्थस्थल र भावनात्मक रूपले नेपाली राष्ट्रिय एकता केन्द्र बन्ने गरी यसको निर्माण होस् भन्ने मेरो सदिच्छा छ”, उहाँले भन्नुभयो ।

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले नगरपालिकाले यस सम्बन्धमा गरेका काम तथा योजना, समितिका उपाध्यक्ष व्रतराज आचार्यले भानु साहित्य उद्यानको गुरुयोजना अवधारणापत्र र महासचिव काशीराज आचार्यले विषयवस्तुबारे प्रकाश पार्नुभएको थियो । त्यसअवसरमा वासुदेव त्रिपाठी, रमा शर्मालगायत साहित्यकारले भानु साहित्य उद्यानका विविध पक्षबारे मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.