‘पत्रकारितालाई जिम्मेवार बनाउन सामयिक कानुन’

भक्तपुर- प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारितालाई सक्षम, सुदृढ, व्यावसायिक र जिम्मेवार बनाउन समय सुहाउँदो कानुनको आवश्यकता औँल्याउनुभएको छ ।

सरकारले ल्याउन लागेको सामाजिक सञ्जालसम्बन्धी, मिडिया काउन्सिलसम्बन्धी र आमसञ्चारसम्बन्धी विधेयकलाई केन्द्रित गरेर आज यहाँ आयोजित छलफलमा उपसभामुख रानाले संविधानले नै प्रेस स्वतन्त्रता सुनिश्चित गरेको भन्दै कानुन निर्माणका क्रममा जनप्रतिनिधिले ख्याल गर्नुपर्ने बताउनुभयो ।

देशमा प्रजातन्त्रदेखि गणतन्त्र ल्याउनमा पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको भन्दै रानाले संविधानले गरेको व्यवस्थाबमोजिम स्वतन्त्रता, सूचनाको हक, सञ्चारको हक, गोपनीयताको हक सुनिश्चित हुने गरी मिडियासम्बन्धी कानुन बनाउनुपर्नेमा जोड दिनुभयो ।

“हामी कानुन निर्माण गर्ने जनप्रतिनिधिले यस्ता विषयमा गम्भीर घनीभूत छलफल गर्न अपरिहार्य छ”, उहाँले भन्नुभयो, “यी विषयमा अन्तर्राष्ट्रियस्तरमा के कस्ता प्रतिबद्धता जनाएको छ भन्ने कानुन बनाउने बेला ख्याल नगर्ने, नागरिक अधिकारलाई सङ्कुचित गर्ने किसिमले ऐन कानुन बनिरहेका छन् कि ? हामी संवेदनशील बनेर ख्याल गर्नुपर्छ ।”

उपसभामुख रानाले सूचना र अभिव्यक्ति स्वतन्त्रताको हक संविधानले नै ग्यारेन्टी गरेको भन्दै राज्यले कानुन बनाएर बाँध्न खोजे पनि प्रविधिको विकासले हनन गर्न सम्भव नभएको बताउनुभयो । नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धता, देशको परिवेश र प्रविधिको विकासलाई समेटेर कानुन बनाउनुपर्ने उहाँको सुझाव थियो ।

“मौलिक हक तथा अधिकारलाई कायम राख्ने कानुन, नीति र प्रक्रिया तर्जुमा, समीक्षा र कार्यान्वयन गर्न यस कार्यक्रमले आवश्यक ज्ञान र स्रोत प्रदान गर्नेछ । जसले अझ खुला लोकतान्त्रिक र पारदर्शी समाज निर्माणमा योगदान पु¥याउनेछ”, उहाँले भन्नुभयो ।

इन्टर पार्लियामेन्ट युनियन (आइपीयु)को मानवअधिकार कार्यक्रम व्यवस्थापक रोगिर हुइजेन्गाले अभिव्यक्ति स्वतन्त्रता मानवअधिकारको आधारभूत विषय भएको भनाइ राख्नुभयो । हुइजेन्गाले अन्तर्राष्ट्रिय अभिसन्धिअनुसार नेपालले कानुन बनाउने र कार्यान्वयनबाट अभिव्यक्ति स्वतन्त्रता संरक्षण गर्ने प्रतिबद्धता जनाएको भन्दै कानुन निर्माणमा संसद्ले यसलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । नेपालको अभिव्यक्ति स्वतन्त्रता कानुन अन्तर्राष्ट्रिय मापदण्डअनुरूप बनाउन आइपियुले सहयोग गर्ने समेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले आयोजना गरेको अभिव्यक्तिको स्वतन्त्रता, सूचनाको अधिकार र पत्रकारको सुरक्षा विषयक कार्यक्रममा सङ्घीय संसद्का २० भन्दा बढी सांसद सहभागी हुनुहुन्छ । कार्यक्रममा युनेस्कोका अभिव्यक्ति स्वतन्त्रता विज्ञ गुइलहर्मे कनेलाले अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी र क्षेत्रीयस्तर अभ्यासबारे प्रस्तुति दिनुभएको थियो भने नेपालको सन्दर्भमा सन्तोष सिग्देलले प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा आयरल्यान्डका सांसद जेम्स ललेस, अन्तर्राष्ट्रिय विज्ञ प्रा जोन बाराटाले पनि अभिव्यक्ति स्वतन्त्रता, सञ्चार कानुनसम्बन्धी प्रस्तुति दिने कार्यतालिका छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.