गठबन्धन पाँच वर्षसम्म टिक्छ : परराष्ट्रमन्त्री साउद
रुपन्देही- परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले यो गठबन्धन पाँच वर्षसम्म टिक्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं ३ रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रजातन्त्र रक्षाका लागि गठबन्धनको आवश्यकता औँल्याउनुभयो ।
“जनताबाट अनुमोदित गठबन्धन भएकाले मन्त्रीको हेरफेर हुनसक्छ, उचित सहमतिका आधारमा प्रधानमन्त्रीको हेरफेर हुनसक्छ, तर गठबन्धन पाँच वर्षका लागि चलाउनुपर्छ”, मन्त्री साउदले भन्नुभयो, “प्रजातन्त्र रक्षाका लागि, पार्टी र राष्ट्रका लागि, राष्ट्रमा स्थिरताका लागि यो आवश्यक र उपयुक्त छ ।”
फरक प्रसङ्गमा मन्त्री साउदले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भारतबाट हुनसक्ने सहयोगका लागि विभिन्न भ्रमणका बेला गम्भीररुपमा कुरा राखेको बताउनुभयो । उहाँले विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालन गर्नका लागि यसको मोडलका बारेमा चर्चा भइरहेको जानकारी दिनुभयो ।
मन्त्री साउदले सिमराको रुट अत्यन्त व्यस्त भएकाले भारतसँग थप रुटको विषयमा कुरा भइरहेको बताउनुभयो । साना विमानका लागि रुट पाइए पनि बोइङलगायत रुटका लागि सरकार लागिपरेको उहाँले स्पष्ट पार्नुभयो ।।
प्रतिक्रिया राख्नुहोस्