१९ सदस्यको शपथग्रहण आज, फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षको निर्वाचन

काठमाडौं- राष्ट्रिय सभाका १९ सदस्यहरुले आज शपथ ग्रहण गर्दै हुनुहुन्छ । गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित सदस्यहरुले शपथ ग्रहण गर्न लाग्नुभएको हो ।

आज शपथ ग्रहण गर्ने राष्ट्रिय सभा सदस्यहरुमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुङ्गाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट हुनुहुन्छ ।

माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कु सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्द हुनुहुन्छ ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल र सावित्री मल्ल, नेकपा एमालेबाट रुक्मिनी कोइराला र जनता समाजवादी पार्टीबाट पूजा चौधरीले राष्ट्रिय सभा सदस्यको शपथ लिंदै हुनुहुन्छ ।

राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसदको पदावधि हिजो सकिएको थियो । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उहाँहरू हिजो बिदा हुनुभएको हो ।

उहाँहरूको ठाउँमा हुने रिक्तता पूर्तिका लागि माघ ११ मा भएको राष्ट्रिय सभा निर्वाचनबाट १९ सदस्य निर्वाचित हुनुभएको थियो । एकजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन भने बाँकी छ ।

माघ ११ गते भएको निर्वाचनबाट राष्ट्रिय सभाको समीकरण नै बदलिएको छ । माओवादी पहिलो ठूलो दल बन्दा कांग्रेस दोस्रो ठूलो दलको हैसियतमा रहनेछ । यस्तै एमाले तेस्रो ठूलो दल भएको छ भने नेकपा एकीकृत समाजवादी राष्ट्रिय सभामा चौथो ठूलो दल बनेको छ ।

२०७४ सालमा नयाँ संविधान जारी भएपछि भएको राष्ट्रिय सभा निर्वाचनबाट ५६ जना सदस्य निर्वाचित भएका थिए भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएका थिए ।
निर्वाचनपछि राष्ट्रियसभाका ५९ सदस्यहरूको कार्यअवधि गोला प्रथाबाट निर्धारण गरिएको थियो ।

यसैबीच राष्ट्रिय सभाका अध्यक्ष पदको निर्वाचन आगामी फागुन २९ गते गर्ने गरी सम्भावित कार्यसूची तय गरिएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पदावधि समेत सकिएकाले नयाँ अध्यक्षको निर्वाचन गर्नुपर्ने भएको हो ।

राष्ट्रिय सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले माघ र फागुन महिनाका लागि तयार गरेको सम्भावित कार्यसूचीमा अध्यक्षको निर्वाचन यही फागुन २९ गते गर्ने उल्लेख छ । नेपालको संविधानले राष्ट्रिय सभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंगको रुपमा परिकल्पना गरेकोछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.