राष्ट्रियसभाको गरिमा बढाउन लाग्छुः नवनिर्वाचित अध्यक्ष दाहाल

काठमाडौँ- राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले उक्त सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताउनुभएको छ ।
सभा अध्यक्षमा निर्वाचित भएपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस संस्था अत्यावश्यक संस्था हो भन्ने मान्यता स्थापित गर्न भूमिका खेल्ने बताउनुभयो ।
“राष्ट्रियसभाले गर्नुपर्ने सबै दायित्व र भूमिकालाई पूरा गराउन म सबै दलसँग आवद्ध सदस्यलाई एकतावद्ध बनाएर लैजान प्रतिवद्ध छु । त्यसमा सफल हुन्छु भन्नेमा मलाई आत्मविश्वास पनि छ’’, अध्यक्ष दाहालले भन्नुभयो, “म त्यहीअनुसार अगाडि बढ्छु ।”
संविधानमा उल्लेख भएअनुसार राष्ट्रियसभाले निर्वाह गर्नुपर्ने भूमिका तथा कार्यपालिकासँग जोडिएर आउने भूमिकालाई स्थापित गर्नेतर्फ आफूले काम गर्ने उहाँको भनाइ थियो ।
    राष्ट्रियसभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरताका साथ लिएर आफू अगाडि बढ्ने बताउँदै उहाँले कानुन निर्माण या अन्य सवालमा सभाको गरिमा बढाउनेतर्फ आफू लाग्ने उहाँको भनाइ थियो । अध्यक्ष दाहालले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिँदै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.