आर्थिक विकासमा बुटवल देशकै सर्वोत्कृष्ट नगर घोषित

बुटवल- बुटवल उपमहानगरपालिका स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट घोषित भएको छ । आर्थिक वर्ष २०७९/८० मा देशभरका स्थानीय तहमध्ये बुटवलले सर्वोत्कृष्ट भइ ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएको हो।
नेपाल नगरपालिका संघले मंगलबार आयोजित समारोहमा बुटवललाई अवार्ड प्रदान गरेको छ। काठमाडौंमा आयोजित समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयलाई उत्कृष्ट नगरपालिका पुरस्कार प्रमाणपत्र हस्तान्तरण गर्नुभयो।
प्रशासनविद् काशीराज दाहाल नेतृत्वको मूल्यांकन समितिले देशभरका नगरपालिकाले गरेका कार्यका ५ क्षेत्रको अध्ययन गरी मूल्यांकन प्रतिवेदन तयार गरेको थियो।
तीमध्ये स्थानीय आर्थिक विकासतर्फ बुटवलले देशका सबै स्थानीय तहलाई उछिनेको हो।
नगरले सार्वजनिक सेवा सुदृढ गर्दै आधुनिक प्रशासनलाई जनउत्तरदायी बनाउने प्रयास गरेको नगर प्रमुख पाण्डेयले बताउनु भयो। ‘बुटवल उपमहानगरपालिका आफ्ना सबै क्षेत्र परिष्कृत गर्दै चौतर्फी विकासको मार्गमा अघि बढेकोे बताउनु भयो ।’
देशकै उत्कृष्ट नगरका रूपमा पुरस्कृत हुनुले आफूहरूको काममा हौसला थपिएको भन्दै प्रमुख पाण्डेयले बुटवलमा विकास र परिवर्तनको यात्रा शुरू भएको बताउनु भयो। ’बुटवललाई देशकै अगुवा सहरका रूपमा स्थापित गर्न शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार सिर्जना, उद्यमशीलतामा जोड दिएको बताउनु भयो ।
उपमहानगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
बा-आमासँग नगरप्रमुख कार्यक्रममार्फत ६० वर्षमाथिका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, अपांगता परिचय पत्र वितरण, सुत्केरी महिलाको स्वास्थ्य जाँच, पशुचौपायाको स्वास्थ्य परीक्षण तथा औषधी वितरणलगायतका कार्यक्रम नागरिकको घरदैलोमै पुर्याइएको छ ।






प्रतिक्रिया राख्नुहोस्