कर्णाली पुलमा सवारी साधन चलाउन अझै समय लाग्ने

कैलाली- लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई जोड्ने चिसापानीस्थित कर्णाली पुलको अवस्थाबारे प्राविधिक टोलीले अध्ययन गरेको छ । सोमबार दिउँसो विरगञ्जबाट महेन्द्रनगरतर्फ आइरहेको ना ५ ख ५२९७ नम्बरको ट्रकमाथि एक्कासी कर्णाली पुलमा आगलागी भएको थियो ।

ट्रकमा लागेको आगो पुलका केबलहरुमा समेत सल्किएपछि सवारी साधन आवागमनलाई बन्द गराएर सडक विभाग र पुल महाशाखाबाट आएको प्राविधिक टोलीले स्थलगत निरीक्षण तथा अध्ययन गरेको हो ।

पुल महाशाखाका डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले प्रारम्भिक अध्ययनका क्रममा आगालागीबाट पुलका दायाबाँया तर्फका ७–७ केबल जलेको पाइएको बताउनुभयो । जलेका केबलसहित पुलको सतहको मर्मत सम्भारको काम गर्नुपर्ने भएकाले अझै केही दिन सवारी साधन चलाउन नमिल्ने अधिकारीले जानकारी दिनुभयो ।

पुलका दुवैतर्फका १४ वटा केबल जलेको भएपनि अहिलेसम्म थप क्षति भएको नदेखिएको तर मर्मतको काम गर्नुपर्ने भएकाले समय लाग्ने उहाँको भनाइ छ । उहाँले पुलको सतह मर्मत गर्नुपर्ने भएकाले कम्तीमा पनि तीन दिनसम्म सवारी साधन चलाउन नमिल्ने बताउनुभयो ।

अहिले पुलको सतहको मर्मत सम्भार गरिने बताउँदै अधिकारीले आगोले क्षति गरेका केबल भने तत्काल मर्मत नहुने उल्लेख गर्नभयो । सोमबार साँझ विरगञ्जबाट लाइटर बोकेर आइरहेको ट्रक कर्णाली पुलमाथि गुडिरहेको अवस्थामा आगो लागेको थियो ।

सोही आगोको लप्काले पुलका फलामे केबलमा समातेपछि जलेका थिए । फलामे केबलको बाहिरपट्टी रबर रहेकाले आगलागी भएको प्राविधिकको भनाई छ ।

आगलागीपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । अहिले सुदूरपश्चिम भित्रिने र छुट्ने सवारी साधन वैकल्पिक बाटोको प्रयोग गरेर हुलाकी राजमार्ग मार्फत चलिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.