गुल्मीको धुर्कोटस्थित विचित्र गुफा बिदेशी पर्यटकहरुको रोजाईमा (तस्वीर सहित)

गुल्मी- गुल्मी जिल्लाको प्रचुर पर्यटकीय सम्भावना बोकेको पर्यटकीय ल मध्ये एक हो विचित्र गुफा । धुर्कोट गाउँपालिका-५ बस्तु स्थित विचित्र गुफाको अवलोकनका लागि स्वदेशबाट मात्रै होइन बिदेशी पर्यटकहरु समेत आउन थालेका छन् ।

गुल्मीका पर्यटकीय क्षेत्रहरुमध्ये बिदेशी पर्यटकहरुको रोजाइमा विचित्र गुफा पर्न थालेको छ । पर्यटनको हिसाबले निकै महत्वपूर्ण रहेको धुर्कोट गाउँपालिका-५ बस्तुस्थित गुफाले समग्र जिल्लाकै पहिचान बोकेको छ ।

अहिले गुफा अवलोकनका लागि स्वदेशबाट मात्रै होइन बिदेशबाट समेत अवलोकनकर्ता आउन थालेका छन् । केहि दिनअघि १७ जनाको समुहमा फ्रान्सेली नागरिकहरु त्यस विचित्र गुफाको अवलोकनमा आएका थिए । त्यसको प्रभावले पुनः थप बेल्जियम, स्पेन र फ्रान्सबाट १२ जनाको समुहमा विचित्र गुफाको अवलोकन भ्रमणमा आएका छन् ।

यसअघि फाटफुट रुपमा विदेशी नागरिकहरु गुफा अवलोकन भ्रमणमा आए पनि ठूलो समूहमा आउन थालेको यो पहिलो पटक हो । विचित्र गुफाको भौतिक विकासले पर्यटन विकास बढ्दै जान थालेको गुफा विकास समितिका अध्यक्ष सन्तोष गौतम सुनारले बताउनुभयो ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि विभिन्न संरचना निर्माण कार्य पनि हुँदै आएको उहाँको भनाई छ । यस गुफालाई पर्यटन उद्योगको रुपमा विकास गर्न थालिएको सुनारले बताउनुभयो ।

२०४५ सालमा ढेडु लखेट्दै जाने क्रममा पत्ता लागेको त्यस गुफा महत्वपुर्ण राष्ट्रिय सम्पदाका रुपमा स्थापित हुन पुगेको स्थानीय शिक्षक कृष्णप्रसाद भण्डारीले बताउनुभयो । पछिल्लो समेत स्थानीयले नै समिति बनाएर केहि रेखदेख र संरक्षण गर्दै आएको भण्डारीले बताउनुभयो । गुफा सम्म पुग्ने मोटरबाटो स्तरीय नहुँदा समस्या पर्ने गरेको त्यहाँ पुग्नेहरु बताउछन् ।

हाल गुफा क्षेत्रमा कच्ची बाटो, नजिकै पिननिक खानेहरुको लागी प्रतिक्षालयसँगै शौचालयहरु निर्माण गरिएको धुर्कोट गाउँपालिका वडानम्बर ५ का वडाअध्यक्ष केशव भण्डारीले बताउनुभयो । गुफा अवलोकनका लागि अहिले दैनिक सय जनासम्म र कहिलेकाँहि विभिन्न समुहमा घुम्न जाने गरेको भण्डारीले बताउनुभयो ।

अहिले गुफा नजिकै सूचना केन्द्र भवन निर्माण भइरहेको छ । जसबाट बिचित्र गुफाको सम्पूर्ण जानकारी दिने सूचना केन्द्रको भवन, गुफा नजिकै छल्दिदेखि गुफासम्म जाने पैदल मार्ग, बीच बीचमा प्रतिक्षालय, खानेपानी, शौचालय लगायतका पुर्वाधार निर्माण भएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयो । गुफामा फेला परेका आकृतिलाई नरसिंहवतार, कच्छ्यावतार, गोपीकृष्ण, जटायु, शिवलिङ्गलगायत नामाकरण गरिएको छ ।

गुफाभित्रका विभिन्न आकृतिहरु, कलात्मक वस्तुहरु, धार्मिक आस्था जगाउने मनमोहक दृष्यहरुले विचित्र गुफा साँच्चिकै विचित्र रहेको अध्यक्ष पोखरेलले बताउनुभयो । विचित्र गुफा कुल १८५ मिटर रहेको छ ।

गुफाभित्र पारदर्शी ढुङ्गा, शिवलिङ्ग, गाइका थुन र निकै कलिला चट्टानहरु रहेका छन् । अनुसन्धान भए सम्भवतः नेपालकै ठुलो गुफा हुन सक्ने यसको अझै धेरै कुरा लुकेरै बसेका छन् ।

गुफाभित्र साना ठुला गरी ११ वटा धार्मिक ग्रन्थमा आधारित कक्षहरु छन । गुफा भित्रको उचाई पनि कतै निहुरिएर पस्नुपर्ने त कतै सभाहल नै बन्नेखालको उचाई र फराकिलो छ । हिन्दुधर्ममा आधारित विभिन्न प्राकृतिक संरचना रहेको त्यस गुफा नाम जस्तै साँच्चीकै विचित्रको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.