रिडी-तम्घास सडक १२ घण्टा बन्द हुने

गुल्मी- आजदेखि रिडी–तम्घास सडक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास रिडी सडकको रिडीदेखि वलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा सडक स्तरउन्नतीसँगै कालोपत्रे गर्न काम हुँदै आएको छ ।

त्यसअन्तर्गत सडकको केहि ठाउँमा कडा चट्टान फोर्न र सडकको ग्रेड मिलाउने कार्य गर्न भन्दै चैत ७ गतेदेखि चैत ३० गतेसम्म बिहान १० बजे देखि ४ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासका सूचना अधिकारी इन्जिनियर शर्मिला शर्माले बताउनुभयो ।

मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डको २३ किलोमिटरमा समान्तर इलाइट जेभीले निर्माण कार्य गर्दै आएको छ । २०७९ साल फागुन २८ गते सम्झौता भइ २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।

करिब एक अर्ब ५० करोड रुपैयाँको लागतमा सडक स्तरोन्नति र कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भएको सूचना अधिकारी शर्माले बताउनुभयो । सडकको चैतको पहिलो सातासम्म २५ प्रतिशत भौतिक प्रगती र ११ दशमलव ५३ वित्तिय प्रगति भएको छ ।

सडक बन्द भएसँगै बैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले आग्रह गरेको छ । मदन भण्डारी राजमार्गको गुल्मी खण्डको रिडीबाट सडकको स्तरोन्नती गर्ने कार्य हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.