सन्दकपुरमा पाइने रेड पाण्डामाथि विश्वको नजर (फोटोफिचर)

इलाम- इलामको पर्यटन प्रवद्र्धनमा प्रकृति, संस्कृति, जैविक विविधता, चराहरु र वन्यजन्तु माध्यम बनेका छन् ।  उत्तरी इलाममा अवस्थितसन्दकपूर गाउँपालिकामा लोपोन्मुख वन्यजन्तु, चराहरुको माध्यमबाट पर्यटन प्रवद्र्धन हुँदै आएको छ ।
घना जंगलमा बास बस्ने वन्यजन्तु र चराहरुको दृश्यावलोकनमा रमाउन विश्वभरबाट पुग्ने पर्यटक संख्या बढ्दो छ ।

शहरको कोलाहलबाट सयौँ कोष टाढा प्रकृतिमा रमाउन आइपुग्ने पर्यटकहरुले असंख्य चराहरु र वन्यजन्तुको दृश्यबाट आनन्द लिने पर्यटकहरुको संख्या सन्दकपुरमा बढेको हो ।

सन्दकपूर गाउँपालिकामा रहेका २६ सामुदायीक वनक्षेत्रलाई आफ्नो बासस्थान बनाएको लजालु स्वभाव, लोपउन्मुख र आकर्षक वन्यजन्तु रेडपाण्डा पर्यटकको मुख्य आकर्षण बनेको छ । सन्दकपूर ५ को आहालभञ्ज्याङदेखि सन्दकपूर १ को अधिकारीबाससम्म रेडपाण्डाको चरिचरन र बासस्थान क्षेत्र हो ।

समुद्र सतहबाट २ हजार मिटरमाथिको क्षेत्र रेडपाण्डाको चरन क्षेत्र भएकाले सन्दकपुर गाउँपालिका भित्रका उच्च पहाडी भु–भागमा रेडपाण्डा हेर्न आउने पर्यटकहरुको संख्या बढेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताउनुभयाे । रेडपाण्डाको बसोबासले गर्दा सन्दकपुर गाउँपालिका–५ स्थित चोयाटार, हाँगेथाम, आहालभञ्ज्याङ, कैयाकट्टा, दोबाटे, छिन्टापू, टप्पु, अधिकारीबास वन क्षेत्रमा पर्यटक घुमफिर बढ्दै गएका छन् ।

विश्वमा लोपोन्मुख सुचिमा सुचिकृत रेडपाण्डाको अवलोकनकै लागि देश विदेशका पर्यटकहरु सन्दकपुर गाउँपालिका भित्रका जंगलमा घुम्ने गरेका छन् ।
नेपाल, भारत र युरोपसम्मका पर्यटकहरु रेडपाण्डाको सौन्दर्यमा लोभिएसँगै ‘रेडपाण्डा पर्यटन’ सन्दकपुर गाउँपालिकाको ब्राण्ड नै बनेको सन्दकपुर २ का अध्यक्ष सनम राईले बताउनुभयाे। आफ्नो सौन्दर्यले मोहित पार्ने रेडपाण्डा पाइने सन्दकपुरका वनमा पर्यटक, वन्यजन्तुविज्ञ, चराविज्ञ र प्रकृतिप्रेमि पुग्ने क्रम बढेको रेडपाण्डा नेटवर्कका धनबहादूर खाम्दाकले बताउनुभयाे ।

रेडपाण्डालाई स्थानीय भाषामा पूँडेकुदो र हाब्रे भनिन्छ । घाँस दाउरा गर्दा भेटिने रेडपाण्डाको महत्व बुझेसँगै समुदाय आफैले १२ वर्ष अघि संरक्षणका काममा सक्रिय भएका थिए । जसले देशविदेशका पर्यटकको मन तान्न सफल मात्रै भएको छैन,लेकाली बस्तिको जिविकोपार्जनको आधारसँगै पर्यावरणीय सन्तुलनमा समेत टेवा पु¥याएको केचना कंचनजंघमा पर्यट विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले बताउनुहुन्छ ।


हेर्दै आकर्षक देखिने र लजालु स्वभावको रेडपाण्डा सोझो, हलुका रातो, सेतो र कालो रंगको हुन्छ । रुखको काप र खबटामा बस्ने रेडपाण्डाको आहारा मालिङ्गोको पात र टुसा हो । पर्यटकलाई रेडपाण्डा देखाउन रेडपाण्डाको दिसा, हिँड्दा बन्ने डोब, मोहोडाका आधारमा वासस्थान पत्ता लगाइन्छ ।

रेडपाण्डा ९३ देखि एक सय १० सेन्टिमिटर हुन्छ । तीनदेखि ६ केजीसम्मको तौल हुने पाण्डा नेपाल भारत, भुटान, चीन र म्यानमारमा मात्र पाइन्छ । दुर्लभ र संकटापन्न सुचिमा सुचिकृत रेडपाण्डा नेपालका २३ जिल्लामा पाइने गरेपनि धेरै पर्यटक तान्नेमा इलामको सन्दकपुर गाउँपालिका हो ।

सन्दकपुर–५ जमुनाको चोयाटार, हाँगेथाम, हिले, ४ नम्बर वडाको माबुथाम र पद्मसंभव सामुदायीक वनमा रेडपाण्डा पर्यटन प्रवद्धन भइरहेको छ । विश्वमा १० हजारको संख्यामा रहेका रेडपाण्डा सन्दकपुर गाउँपालिका क्षेत्र आसपास २ सय ५० को संख्यामा रहेको अध्ययनमा उल्लेख छ ।
नेपाल, भारत र तेस्रो मुलुकका पर्यटक रेडपाण्डाको दृश्य हेर्न मात्रै पनि आउने गरेका छन् । रेडपाण्डासँगै लोपउन्मुख सुचिमै रहेको गिद्धको बासस्थान पनि सन्दकपुरका वन क्षेत्रमा सजिलै अध्ययन गर्न सकिन्छ । लोपउन्मुख वन्यन्तु र चराहरु सजिलै देखिने भएपछि लेकाली बस्तिमा होमस्टे व्यवसाय फस्टाएको सन्दकपुर ३ का अध्यक्ष लिल बहादूर बुर्जाले बताउनुभयाे ।


हेमस्टेमा पुग्ने पर्यटकहरुले गाउँमा उत्पादित अर्गानिक परिकारको स्वादका परिकारबाट स्वागत सत्कार पाएका छन् । जसले गर्दा समुदायको आयआर्जनमा वृद्धिसँगै गाउँमा रोजगारीका अवसर थपेका छन् । युरोप र भारतबाट आउने पर्यटकहरु जौबारी, कैयाँकट्टा, कालपोखरी, गैरीबास, आहालभञ्ज्याङ्ग, इङ्ला, दोबाटे, गोरुवाले, टप्पु क्षेत्रमा बास बस्ने गरेका छन् । रेडपाण्डा देखिएमा आफुले चिताएको पुग्ने धार्मिक विश्वास पनि छ ।
रेडपाण्डासँगै वनमा पाइने सयौँ प्रजातीको चराहरु, वनैभरी फुल्ने चाँप, लालिगुराँसले पर्यटक अझै लोभिने गरेका छन् । छिनछिनमा बदलिरहने मौसम र हिउँदको हिउँ र वर्षातको झरीमा पर्यटक रमाउने गरेका छन् ।


समूदायमा आधारित रेडपाण्डा संरक्षणका काम भएको चोयाटार पुग्न इलाम सदरमुकाम बिब्ल्याँटे, सुम्बेक जुमना, इङ्ला हुँदै ३० किलोमिटर यात्रा गर्नुपर्छ । सूर्योदय नगरपालिकाको फिक्कल बजार माईजोगमाई गाउँपालिकाको नयाँबजारबाट आहाल भञ्ज्याङ्ग हुँदै पनि चोयाटार पुगिन्छ । सन्दकपुर गाउँपालिकाको दोबाटे पुग्न इलाम बजार सुलुबुङ्ग, माबुथाम, हुँदै २८ किलोमिटर यात्रा गर्नुपर्छ ।


रेडपाण्डाको अध्ययनका लागि सन्दकपुर गाउँपालिका भित्रका १० वटा रेडपाण्डामा रेडपाण्डा नेटवर्क र वन मन्त्रालयबाट रेडियोकलर जडान गरिएको थियो । सन् २००८ मा लोपउन्मुख सुचिमा रेडपाण्डालाइ सुचिकृत गरिएकाे हाे ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.