मौसमी प्रणाली आजदेखि पूर्वबाट निष्कृय हुँदै जाने
काठमाडौं- हिँउदे वर्षा नभएर खडेरी परिरहेका बेला पछिल्ला दिन पानी परेपछि किसानले राहात महसुस गरेका छन् । लामो समयसम्म पानी नपर्दा जमिन सुक्खा भएको थियो ।
नौ महिनादेखि प्रचण्ड गर्मीले आक्रान्त भएको मधेशमा पनि पानी परेपछि ठूलो राहतको अनुभूति भएको छ । यो पानीले आँप, गहुँ, रहर लगायतका वालीनाली सप्रिने विश्वासमा किसानहरु खुसी भएका छन् ।
सबैतिर भारी वर्षा नभएकाले बाढी पहिरोको जोखिम पनि नभएको र धेरै हावाहुरी पनि नचलेकाले यो पानीले खेतिपातीलाई फाइदा पुगेको बताइएको छ ।
नेपालमा अहिले गहुँ बालीको मौसम छ । गहुँ बालीको उत्पादन लिने समय अझैं बाँकी रहेकाले सो बालीमा हालको वर्षाले खासै असर नपुर्याउने कृषि वैज्ञानिकहरुको भनाइ छ । उनीहरुका अनुसार मध्यपहाडी क्षेत्रमा मकै बाली लगाउने समय भएकाले हिउँदे वर्षाले किसानलाई राहत भएको छ ।
नेपालमा हिउँदे मौसममा विशेषतः मकै, गहुँ र मुसुरोको खेती हुने गर्दछ । मौसमविद्हरुले पनि यो वर्षाले खेतिपातिलाई राम्रो गर्ने बताउँदै बरु प्रदूषणका कारण पानी पर्दा जथाभावी बाहिर ननिस्कन भने अपिल गरेका छन् ।
बितेको २४ घण्टामा सबैभन्दा बढी पानी गोरखाको विरेनचोकमा ९० मिलिलिटर परेको रेकर्ड गरिएको छ । यसैगरी मकवानपुरको सिलिङ्गेमा ६६ र सिन्धुलीको हरिहरपुरमा ५७ मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले यो तीन ठाँउमा परेको पानी भारी वर्षा भएको बताउनुभयो । तराइका जिल्लामा कम पानी परेपनि पहाडी जिल्लाका अधिकांश भूभागमा पानी परेको छ । आजको वर्षा गण्डकीदेखि पूर्वतर्फ बढी केन्द्रित भएको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यसको प्रभाव आजैदेखि विस्तारै पूर्वबाट निष्कृय हुँदै जाने वरिष्ठ मौसमविद् कँडेलले जानकारी दिनुभयो ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरुले अनुरोध गरेका छन् ।
अहिले प्रि-मनसुनको अबधि भएकाले यो वर्षा पनि प्रि-मनसुनी वर्षा नै भएको मौसमविद्हरुले बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्