कर्जन्हा नगरपालिकाका तत्कालिन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिरहा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कर्जन्हा नगरपालिकाका तत्कालिन मेयर गंगा पासवान र तत्कालिन दुई निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालिन मेयर पासवानसँगै तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रविन कुमार महतो र निर्माण व्यवसायी महालक्ष्मी पाण्डे एण्ड कम्पनी र ड्रागन जेभीका आधिकारिक प्रतिनिधि बैजनाथ यादवसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ । आर्थिक वर्ष ०७८/०७९ मा प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा उनीहरूले अनियमितता गरेको आयोगको ठहर छ ।

उच्च अदालत जनकपुर, राजविराजले प्रक्रिया पूरा नभएसम्म नगरपालिकाको कार्यालय अन्यत्र नसार्न र तोकिएको साबिक कर्जन्हा गाविसको कार्यालयबाटै कार्यालय सञ्चालन गर्नु भनेर जारी गरेको आदेशविपरित प्रशासनिक भवन निर्माणको ठेक्का लगाएर सार्वजनिक सम्पत्तिको हानि-नोक्सानी पुर्‍याएको आयोगले आरोप पत्रमा दाबी गरेको छ ।

निर्माण व्यवसायीले भवन निर्माणका लागि पेस्की भुक्तानी लिएको थियो । तर, निर्माण कार्य सुरु नगरेको, पेस्की भुक्तानी ग्यारेन्टीको म्याद समाप्त भइसक्दा पनि म्याद थप नगरेको र फिर्ता दाखिला नगरेको आयोगले जनाएको छ ।

आयोगले तत्कालिन मेयर पासवानसहित पाँचै जनालाई विपक्षी बनाउँदै १ करोड ८ लाख रुपैयाँ बिगो बमोजिम जरिवाना र कैद सजायको माग गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.