सडक निर्माणको काम सुस्त हुँदा यात्रुहरु हैरानीमा (तस्वीरसहित)

कास्की- पृथ्विराजमार्ग अन्तर्गत मुग्लिन-पोखरा सडकखण्डमा स्तरोन्नतिको काम सुस्त हुँदा यात्रुहरु हैरानीमा परेका छन् ।

बर्षाका कारण सडक हिलाम्मे हुँदा राजमार्ग हुँदै काठमाडौं जाने यात्रु तथा चालक पनि हैरानी खेपिरहेका छन् भने हलुका सवारी साधन चिप्लिएर दुर्घटना हुने क्रम समेत बढेको छ ।

पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी शहरसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडकखण्ड यतिबेला सुस्त गतिको कार्यले कुरुप बनेको छ ।

आँबुखैरनी-जामुने (पूर्वीखण्ड, ४१ किमी) र जामुने-पोखरा (पश्चिमखण्ड, ३९ किमी) २ खण्डमा विभाजन गरी नाली निर्माण र सववेसको काम भइरहेको अवस्थामा वर्षाले सडक हिलाम्मे भएपछि यात्रुहरुलाई सास्ती भएको छ ।

आँबुखैरेनी-पोखरा करिब ८० किलोमीटर सडकखण्डमा स्तरोन्नतिको काम भइरहेकोमा केही दिनको वर्षाले सडक निर्माण कार्यमा प्रभाव पारेको हो ।

सडक हिलाम्मे हुँदा सो राजमार्ग हुँदै काठमाडौं जाने यात्रु तथा चालकले गन्तव्यमा कति बजे पुग्न सकिन्छ भनेर समेत भन्न सकिने अवस्था नरहेको सवारी चालकहरुको भनाई छ ।

पोखरा विमानस्थल चोकदेखि चाउथे डिलसम्म साढे दुई महिनाअघि सुरु गरिएको काम १२ सय ५० मिटर क्षेत्रमा नाली र सववेसको काम चलिरहेको यो क्षेत्रमा खानेपानीको पाइप र बिजुलीको पोल सार्ने काम अन्तिम चरणमा रहेको छ ।

सो खण्डमा १७ दशमलब ५ भौतिक र २६ प्रतिशत वित्तीय प्रगति रहेको हुँदा असारअघि नै यो क्षेत्रको काम सक्नेगरी काम भइरहेको आयोजनाले जनाएको छ ।

एडिबीको सहुलियत ब्याज ऋण सहयोगमा १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा पोखरा–आँबुखैरनीसम्मको दुई लेन सडकलाई विस्तार गरी ४ लेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो ।

पोखरा–मुग्लिन सडकको पूर्वी खण्ड बिस्तारका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ भने पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनी अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनीले जिम्मा लिएको छ ।

सम्झौता अनुसार सन २०२४ अप्रिलसम्म पूर्वीखण्ड र सन २०२४ अगस्तसम्म पश्चिमखण्डको काम सम्पन्न हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.