दश दिनपछि आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सभामुखको विदेश भ्रमणका लागि दश दिन स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजबाट लगातार चैत २१ गतेसम्म चार दिन प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने कार्यतालिका रहेको छ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्ने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सम्झौतामाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।

साथै बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, भन्सार विधेयक लगायत विषयमा प्रस्ताव प्रस्तुत गरिने कार्यसुची रहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ ।

यसैबीच हिजो सभामुख देवराज घिमिरेले नयाँ कार्यतालिका अनुसार संसदको काम कारवाहीलाई सहज रुपमा अघि बढ्ने बातावरण बनाउन दलहरुसंग आग्रह गर्नुभएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरुसंग छलफल गर्दै सदनको अवरोध हटाई नयाँ कार्यतालिका अनुसार सदनलाई सहज रुपमा अघि बढाउने वातावरण बनाउन आग्रह गर्नुभएको हो ।

छलफलपछि कांग्रेस सचेतक सुशिला थिङलेले राजनीति दलसम्बन्धी विधेयक विवादमा जोडिएकाले यसलाई २७ गतेको बैठकसम्म सार्ने सहमति भएको बताउनुभयो । साथै गृहमन्त्रीका बारेमा संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै रहेको उहाँको भनाइ छ ।

एमाले मुख्य सचेतक महेश बर्तौलाले सदनलाई सहज रुपमा सञ्चालन गर्न प्रतिपक्षीले पनि उचित वातावरण बनाउनुपर्ने र सरकारले पनि सदनलाई विजनेश दिनुपर्ने बताउनुभयो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यतालिकालाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको बताउनुभयो ।

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीको बिषयमा उठेका बिषयको जवाफ सम्बन्धीत व्यक्तिले दिन पाउनुपर्ने र रास्वपा त्यसका लागि सदैव तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.