मन्त्री बुढा र महानगर प्रमुख शाहबीच फोहर व्यवस्थापनबारे छलफल

काठमाडौँ- सहरी विकासमन्त्री धनबहादुर बुढा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच नुवाकोटको बञ्चरेडाँडामा फोहर व्यवस्थापनका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ ।

मन्त्री बुढा र प्रमुख शाहबीच आज मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहर व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर काम गर्ने र आपसी सहकार्यबाट अघि बढ्ने विषयमा छलफल भएको हो ।

तत्कालका लागि स्थानीयको सरोकारलाई सम्बोधन हुने गरी बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने र माग सम्बोधन गर्ने विषयमा प्रमुख शाहसँग मन्त्री बुढाले मिलेर अघि बढ्न प्रस्ताव गर्नुभयो ।

मन्त्री बुढाले बञ्चरेडाँडामा जाने फोहरको परिमाणलाई कम गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको जानकारी दिँदै फोहर व्यवस्थापनको दीर्घकालीन समाधानमा काठमाडौँ र ललितपुर महानगरपालिकासँग मन्त्रालयले समन्वय तथा सहकार्य गर्न चाहेको उल्लेख गर्नुभयो ।

“काठमाडौँको विकासका लागि महानगरपालिकाले गर्न चाहेका विकास निर्माणका काममा हामी हातेमालो गरेर अघि बढ्न तयार छौँ”, उहाँले भन्नुभयो, “सुन्दर, सफा र व्यवस्थित राजधानी बनाउने अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्छ ।”

प्रमुख शाहले फोहर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले महानगरले केही वडावाट शून्य फोहर कार्यक्रम सुरु गर्न लागेको उहाँले जानकारी दिनुभयो । उहाँले बञ्चरेडाँडास्थित ल्याण्डफिलसाइटमा फोहर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरी फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताउनुभयो ।

प्रमुख शाहले काठमाडौँ उपत्यकामा ट्राफिक जामको व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अव्यवस्थित बस्तीलाई हटाउनका लागि आवश्यक समन्वय गरेर अघि बढ्न मन्त्री बुढासँग आग्रह गर्नुभयो ।

छलफलमा सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे, स्थानीय पूर्वाधार विभागका महानिर्देशक भरत अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.