बालकको शव चारदिनपछि फेला

गोरखा- पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ ।

बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको सिमलधाराबाट त्रिशुलीमा खस्दा बेपत्ता भएका गोरखा नगरपालिका ७ पौवाखेतका विवश रोकाको शव बुधबार बिहान आठ बजे त्रिशुली किनारमा फेला परेको प्रहरीले जनाएको छ ।

कालीखोलास्थित त्रिशुली किनारमा फेला परेको डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । उनको शव सनाखत गरी गोरखातर्फ ल्याउँदै गरेको उनले बताए । उनको पोस्टमार्टम गरी अन्त्यष्टिका लागि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।

गत शुक्रबार काठमाडौँमा निधन भएका शंकर रोकाको दाहसंस्कार गरी फर्कने क्रममा ट्याक्सी दुर्घटना हुँदा एकै परिबारका पाँचजनाको मृत्यु भएको थियो भने विवश बेपत्ता थिए ।

दुर्घटनामा परी मृतक शंकरकी आमा ७० बर्षकी जुनकिरी रोका, जुनकिरीकी छोरी गोरखा नगरपालिका ४ की हरिमाया रोका(उपरकोटी), नाति आठबर्षका आगमन उपरकोटी, अर्की छोरी गोरखा नगरपालिका १३ यङ्कोटकी अञ्जना रोका र ज्वाई ट्याक्सी चालक गोरखा नगरपालिका ५ का अर्जुन सिर्मलको घटनास्थलमै मृत्यु भएको थियो ।

परिबारका सबैको मृत्यु भएपछि शंकरकी पत्नी वविता रोका सबैको काजकिरियामा बसिरहेकी छिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.