संसदमा संघीय निजामती सेवा ऐन माथि सैद्धान्तिक छलफल

काठमाडौं- बहुप्रतिक्षित मानिएको संघीय निजामती सेवा ऐन माथि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल सुरु भएको छ ।
संघीय मामिला तथा सामान्य प्रसासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि संसदमा छलफल सुरु भएको हो ।
संसदहरुले निजामती कर्मचारीलाई थप सेवा मैत्री बनाउनुपर्ने, उच्च पदस्थ कर्मचारीलाइ सेवा निवृत्त हुनासाथ अन्तराष्ट्रिय निकायहरुमा आबद्ध हुन पाउने व्यवस्थालाइ हटाउनुपर्ने, प्रवेश गर्ने उमेरहद हटाउनुपर्ने, कर्मचारी ट्रेडयुनियन खारेज गर्नुपर्ने तथा तीन तहमा कर्मचारी संयन्त्र बनाउने भन्ने व्यवस्थालाइ सुधार गर्नुपर्ने धारणा राख्नुभएको छ ।
यसैबीच शिक्षा मन्त्री सुमना श्रेष्ठले प्रतिनिधि सभामा सांसदहरुले दर्ता गरेको र संसदमा उठाएको प्रश्नको जवाफ दिदै त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमाथि छानविन भइरहेको बताउनुभएको छ ।
यसैगरी प्रतिनिधि सभाको बैठकको सुरुमै नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउन कांग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गर्नुभएको छ ।
सांसद शर्माले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई छानविन गर्न संसदीय समिति बनाउनका लागि माग गर्दै आएको छ । कांग्रेसको मागलाइ सरकारले वेवास्ता गरेको भन्दै आगामी संसद बैठकमा आउँदा संसदीय छानविन समिति बनाएर आउन आग्रह गर्नुभयो ।
कांग्रेस महामन्त्री समेत रहनुभएका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै शालीनता पूर्वक समितिको गठन गर्न माग गरेको तर पूरा नभए अरु कदम चाल्नुपर्ने बताउनुभयो ।
अर्का सांसद स्वर्णिम वाग्लेले आरोप लाग्ने साथ राजीनामा दिने र संसदीय छानविन समिति बनाउने गरी नजिर स्थापित गर्नु उपयुक्त नभएको जिकिर गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्