झापा र मोरङका शिविरमा बृद्धबृद्धा र अशक्तहरुलाई सहयोग

काठमाडौँ- इन्टा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले झापास्थित बेलडाँगी शरणार्थी शिविर र मोरङ्गको पथरीस्थित शरणार्थी शिविरका बृद्धबृद्धा, अशक्त, असहायहरुलाई जीवन निर्वाह रकम वितरण गरेको छ ।

फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले चैत्र २१ र २२ गते बेलडाँगी शिविरका १ सय ५७ जनालाई र पथरी शिविरका ५७ जनालाई जनही ५ हजार रुपैंँयाका दरले पौष्टिक आहारका लागि रकम हस्तान्तरण गर्नुभएको हो ।

फाउण्डेसनका अध्यक्ष अधिकारीले विगत केही बर्षदेखि शिविरका बृद्धबृद्धा, असहाय र असक्तहरुलाई मासिकरुपमा सो रकम उपलब्ध गराउँदै आउनु भएको छ ।

फाउण्डेसनले रकम प्राप्त गर्ने महानुभावहरुलाई स्थानीय बैंकमा खाता खोल्ने व्यवस्था मिलाई सोही बैंकमार्फत भत्ता उपलब्ध गराउने गरेको छ ।

रकम वितरण कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिकामा स्थायी बसोवास गरिरहेका आफूहरुले आर्जन गरेको कमाइबाट कटौती गरी शिविरमा अलपत्र अवस्थामा छाडिएका आफ्ना दाजुभाइ, दिदी बहिनीको सेवामा थोरै भएपनि सहयोग गर्दै आएको बताउनुभयो ।

उहाँले शिविरमा भएका नेपाली भाषीहरुका लागि नेपाल सरकारले सोचिदिनु पर्ने आग्रह पनि गर्नुभयो ।

यी दुबै शिविरहरुमा फाउण्डेसनले असहाय र बृद्धबृद्धाका लागि ‘डे केयर’को व्यवस्था पनि मिलाएको छ .

यसैगरी फाउण्डेशनले बालवालिकाले उचित शिक्षा पाउन भनेर स्थानीय विद्यालयका लागि अंग्रेजी, विज्ञान, गणितजस्ता विषयका २२ जना शिक्षक शिक्षिकाहरुमार्फत पढाउन सहयोग पनि गरेको छ ।

फाउण्डेसनले पथरी शिविरमा स्वास्थ्य चौकी निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

शिविर र आसपास क्षेत्रका विरामीहरुका लागि प्राथमिक उपचार सहजरुपमा दिलाउने उदेश्यले फाउण्डेसनले स्वास्थ्य चौकी निर्माण गरी संचालनमा ल्याउने तयारी गरेको छ ।

बेलडाँगी शिविरको स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय शिविर व्यवस्थापन समितिसँगको परामर्शमा कार्य शुरु गरिएको छ ।

यसैगरी पथरी र बेलडाँगी शिविरका लागि एक-एक एम्बुलेन्स उपलब्ध गराउन फाउण्डेसनले दुबै नगरपालिकासँग समझदारी गरी रकम निकासा दिइसकेको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.