लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा पदबाट राजीनामा

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले मुख्यमन्त्री पदबाट राजनीनामा दिनुभएको हो । राजिनामा दिएको लिखित पत्र प्रदेश प्रमुख समक्ष विकास सल्लाहकार महेश नेपालले बुझाउनु भएको छ ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले चैत २३ मा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने अवस्था रहेपछि विश्वासको मत लिने योजनाबाट पछि हट्दै संसद बैठकलाई सम्बोधन गरेर मुख्यमन्त्री चौधरीले राजीनामा दिएको घोषणा गर्नु भएको थियो । पदबाट राजिनामा दिदै उहाँले जनतामा बढ्दै गएको निरासालाई भरोसामा बदल्ने काम सबै मिलेर गर्नुपर्ने बताउनु भयो ।

गत वैशाख १४ गते आठ राजनीतिक दल र एक स्वतन्त्र गरी ५३ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा चौधरी नियुक्त हुनुभएको थियो । ८७ सदस्यीय प्रदेशसभामा राप्रपाका एक जना सांसद निलम्बनमा परेपछि ८६ सदस्य कायम छ । बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ ।

नयाँ राजनीतिक समीकरणको आधारमा प्रदेशमा एमाले, माओवादी, जसपा, एकिकृत समाजवादी र स्वतन्त्र सांसदले माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउनेगरी बहुमत सदस्यको हस्ताक्षर प्रदेश प्रमुख समक्षा बुझाउने तयारी गरेका छन् ।

सदनमा एमालेका २९, माओवादी सभामुखबाहेक १०, जसपा ३, एकीकृत समाजवादी एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४४ जनाको साथ छ । यस्तै प्रदेश सभामा कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, राप्रपाका ३, लोसपाका ३, जनमतका ३, जनमोर्चाका १ जना प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.