बाली जोगाउन सिंगो गाउँ नै खेतमा मचान बनाएर बस्न बाध्य

कञ्चनपुर- कञ्चनपुरमा जंगली जनावरबाट बाली जोगाउन स्थानीय रातभर जाग्राम बस्ने गर्दछन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने वन्यजन्तुले अन्नबाली नोक्सान गरेपनि बेलडाँडी गाउँपालिका-५ मा सिंगो गाउँ नै खेतमा मचान बनाएर बस्न बाध्य छ ।

पश्चिममा शुक्लाफाँटा निकुञ्ज र पूर्वमा चौधर नदीले घेरिएको बेलडाँडी गाउँपालिका-५ स्थित राधापुर क्षेत्रमा उखु, तिल, तोरी, मसुरोलगायतको राम्रो खेती हुने गर्दछ । तर किसानलाई त्यहाँ लगाइएको अन्नबाली जोगाउन भने त्यति सहज छैन । फलस्वरुप यहाँका स्थानीय बाली जोगाउन रातभर खेतमै जाग्राम बस्न बाध्य छन् ।

करिब ७२ बिगाह जमिन रहेको यस क्षेत्रमा प्रायः सबै किसानले खेतमा मचान बनाएको देखिन्छ । त्यहाँबाट लामो डोरी लगेर खेतको बिचमा काठ बाधेको जस्तापातासँग जोडिन्छ र जनावर आएका बेला डोरी हल्लाएर भगाउने गरिन्छ ।

यस्तै जनावर धपाउनकै लागि खेतहरुमा प्लाष्टिक तथा मान्छे जस्तै देखिने बुख्याचा पनि राखिएको छ । तैपनि वन्यजन्तुले अन्नबाली नोक्सान गर्न छोडेका छैनन् । अन्नबाली मात्रै होइन, वन्यजन्तुले कहिलेकाँही आफूहरुलाई नै आक्रमण गर्न आउने गरेको स्थानीय बताउँछन् ।

झण्डै ५५ परिवारको जग्गा रहेको यस क्षेत्रमा स्थानीयको अन्नबाली जोगाउनका लागि सरकारबाट भने कुनै पहल भएको देखिदैन । वर्षौंदेखि जंगली जनावरको पीडा झेल्दै आएपनि आफूहरुको समस्या समाधानका लागि कसैले चासो नदिएको किसानको गुनासो छ । उनीहरु जनावरबाट बाली जोगाउन निकुञ्ज क्षेत्रमा तारबार गर्नुपर्ने माग गर्दछन् ।

विद्युतको सुविधा समेत नभएको यस क्षेत्रमा स्थानीयले मचानमा बसेर टर्चको सहायताले जनावर धपाउने गर्दछन् । त्यसैले निकुञ्जबाट आउने बँदेल, चित्तल, हात्तीलगायत जनावरबाट खेती जोगाउन र यसको दीर्घकालिन समाधान खोज्नेतर्फ सरकार जिम्मेवार बन्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.