लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त

लुम्बिनी- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दल नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा-२ बमोजिम महरालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

महराले नागरिक उन्मुक्ति पार्टीसहित पाँच राजनितिक दल र एक स्वतन्त्र गरि ४८ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको थियो ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै महराले प्रदेश प्रमुख समक्ष ४८ जनाको हस्ताक्षरसहित दाबी पेस गरेकोले उहाँलाई प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्री नियुक्त गरेको जनाएको छ ।

बिहीबार नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश मन्त्रिपरिषद् गठन प्रक्रिया सुरू भएको हो ।

प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.