चिहानडाँडामा बन्यो ‘शवदाह स्थल’

स्याङ्जा-  वालिङ–७ को चिहानडाँडामा आधुनिक शवदाह स्थल निर्माण गरिएको छ । पानी र हावाहुरी परेका बेला शव जलाउन निकै सास्ती खेप्दै आएका स्थानीय गुरुङ समुदायले वालिङ नगरपालिकाको सहयोगमा आधुनिक शवदाह स्थल निर्माण गरेका हुन् ।

शवदाह स्थल निर्माणसँगै अन्त्येष्टि कर्म सहजरुपमा गर्न सकिने भएको स्थानीय समाजसेवी भोजराज गुरुङले बताउनुभयो । “सामान्य समयमा शव जलाउन समस्या थिएन”, उहाँले भन्नुभयो, “वर्षाका समयमा र ठूलो हावाहुरी चलेका बेला शव जलाउन निकै समस्या हुन्थ्यो, आधुनिक शवदाहस्थल निर्माण भएसँगै अब सहज हुने भएको हो ।”

चिहानडाँडा वनजङ्गलसितै जोडिएको ठाउँमा रहेकाले पनि हावाहुरीका कारण आगलागी हुनसक्ने भएकाले आधुनिक शवदाह स्थल निर्माणले त्यो समस्या हल भएको उहाँले बताउनुभयो ।

“वनजङ्गल मासिने, पानी परेका बेला काँचा दाउरा नजल्ने, समयमा शव जलाउन नसकिनेजस्ता समस्या थियो”, उहाँले भन्नुभयो, “शवदाहस्थल निर्माणसँगै यी समस्याहरु न्यूनीकरण हुँदै जानेमा हामी विश्वस्त छौँ ।”

शवदाह स्थल निर्माण गर्नका लागि वालिङ नगरपालिकाले रु चार लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । नगरपालिकाले उपलब्ध गराएको रु चार लाख, स्थानीयबाट रु तीन लाख गरी रु सात लाख खर्च भएको हो ।

“शवदाह स्थल निर्माणका लागि स्थानीयले रकम सङ्कलनसहित दैनिक जनश्रमदान गर्नुभएको छ”, उहाँले भन्नुभयो, “स्थानीयहरु आफूहरु पनि निर्माणस्थलमा सँगै खटिनुहुन्छ भने दैनिकरुपमा आलोपालो कामदारलाई खाजा खुवाउँदै आइरहनुभएको छ ।”

वनको नजिकै रहेको चिहानडाँडामा पानी आएका बेला र ठूलो हावाहुरी चलेका बेला शव जलाउन धेरै दुःख पाएको स्थानीयवासी एवं शवदाह स्थल निर्माण समितिका अध्यक्ष किसान गुरुङले बताउनुभयो ।

चिहानडाँडामा मलामी जाँदा सुरक्षितरुपमा बस्नका लागि पौवा निर्माण गरिएको छ । रातिको समयमा पनि सुरक्षालाई मध्यनजर गरी स्थानीय इन्द्रबहादुर गुरुङको सहयोगमा सोलार बत्ती जडान गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.