सभामुख र प्रमुख चार दलका नेताहरुको बैठक बिना निष्कर्ष टुंगियो

काँग्रेसले संसद चल्न नदिने

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उठाएको मागका सन्दर्भ र प्रतिनिधि सभा अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग सभामुखले राख्नुभएको बैठक निष्कर्ष विना सकिएको छ।

संसदलाई सुचारु गर्ने सन्दर्भमा सभामुख देवराज घिमिरेले आज चार प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल राख्नुभएको थियो । बैठकमा सत्तासाझेदार दलका नेताहरुले काँग्रेसको मागमा सहमति जनाउन नसकिने अडान राखेका थिए ।

यता प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दैआएको र सो माग कायमै रहने अडान राखेको थियो ।

दुबै पक्ष आ-आफ्नो अडानमा बसेपछि सहमति कायम गराउन सभामुखले गर्नुभएको प्रयास विफल भएको हो।

बैठकपछि नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानवीन समिति बनाएर गृहमन्त्रीको सहकारी ठगी प्रकरणको छानवीन हुनुपर्ने माग आफूहरुले राखेको जानकारी गराउनुभयो ।

नेता लेखकले सरकारले काँग्रेसको माग पूरा नगरे भोलिदेखि संसद पूर्ण रुपमा अवरुद्ध गर्ने र त्यसको जिम्मा पनि सरकारले नै लिनुपर्ने बताउनुभयो ।

यता सत्ता साझेदार दलका प्रमुख सचेतकहरुले भने संसदीय छानवीन समिति कुनै पनि हालतमा गठन नगर्ने जानकारी गराउनुभएको थियो ।

सिंहदरवारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री तथा गृहमन्त्री रिव लामिछाने सहभागी हुनुहुन्थ्यो ।

यसैगरी नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल बैठकमा सहभागी हुनुहुन्थ्यो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक  लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार पनि आजको बैठकमा सहभागी हुनुभएको थियो ।

यसअघि आजै नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको राखेको थियो । बैठकले सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नताका बारेमा संसदीय छानवीन समिति गठन गर्नुपर्ने निर्णय गरेको थियो ।

बैठकमा नेपाली काँग्रेसका सभापति देउवा सहभागी भएपनि करिव १५ मिनेटमा नै बैठकबाट बाहिरिनुभएको थियो ।

बैठक सकेर सभामुख बाहिरिए पछि पनि प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री लामिछाने र एमालेका उपाध्यक्ष पौडेल भने छुट्टै बैठकमा बस्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.