कर्णाली सरकार गठनका लागि आज अन्तिम दिन

सुर्खेत – कर्णाली प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियारले दिएको समय सीमा आज (मंगलबार) सकिँदै छ ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका राजकुमार शर्माले पदबाट राजीनामा दिएपछि परियारले सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नु भएको हो । प्रदेश प्रमुख परियारले २१ चैतमा आज साँझ ५ः५० बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय सीमा दिनु भएको छ ।
केन्द्रमा सत्ता गठबन्धनमा फेरबदल आएसँगै कर्णालीमा पनि सरकार परिवर्तन भएको हो । सुरुमा राजीनामा नदिने अडानमा रहनु भएका शर्मा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को दबाबले पछि हटनु भएको थियो ।
प्रदेश सरकार गठनको विषयमा माओवादी कर्णालीले नेकपा एमालेलाई जसरीपनि चेपुवामा पार्ने रणनीति अंगिकार गरेको छ । माओवादीले सुगा रटाई रणनीति बनाएपछि एमालेसँग कुरा मिल्न नसक्दा मुख्यमन्त्रीमा दाबी गर्न ढिलाइ भएको हो ।
सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा सरकार गठनमा ढिलाई भनिएपनि मुख्यतः कर्णालीमा माओवादी सत्ताको चासनी छोड्न नखोजेको सर्वसाधारणले आकलन गर्न थालेका छन् । किनभने सत्ता गठबन्धनसँग स्पष्ट बहुमत हुँदा समेत माओवादीले एमालेलाई सहजै सत्ताको चाँबी बुझाउन चाहेको छैन् ।

माओवादीले सभामुखको कार्यकाल बाँडफँड र चार मन्त्रालय रोजेर लिन पाउनुपर्ने अडानमा एमाले सहमत नहुदाँ सरकार गठनमा सकस भएको कर्णाली सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले बताउनु भयो ।
यता एमाले भने पहिला सानो आकारमा भएपनि सरकार गठन गर्ने र त्यसपछि भागबण्डाको विषय टुङ्गोमा पुर्‍याउने पक्षमा रहेको छ ।

सरकार गठनको विषयमा निरन्तर एमाले र माओवादीका नेताहरु छलफल गर्दै आएपनि सहमति जुट्न नसकेको कर्णाली प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक टेकराज पर्छाईले जानकारी दिनुभयो ।

कर्णालीमा मुख्यमन्त्री सहित ८ मन्त्रालय छन् । अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, कृषि मन्त्रालय, पर्यटन मन्त्रालय लगायतका मन्त्रालयमा दुबै दलको दावी हुदाँ सरकार गठनमा ढिलाई भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.