चमेरो चिउरी संरक्षण कार्यक्रम लागू गर्न ६ वटा स्थानीय तहसँग सम्झौता

मकवानपुर – बागमती प्रदेश सरकारले प्रदेशमा ‘चमेरो चिउरी संरक्षण कार्यक्रम’ लागू गर्न ६ वटा स्थानीय तहसँग सम्झौता गरिएको छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले बुधबार एक कार्यक्रमको आयोजना गरी तीन जिल्लाका ६ वटा स्थानीय तहसँग कार्यक्रम सञ्चालनका लागि सम्झौता गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललको प्रमुख आतिथ्यतामा सम्झौता भएको हो । चेपाङ समुदायको बसोबास रहेको चितवन, मकवानपुर र धादिङका ६ वटा पालिकामा यो कार्यक्रम लागू हुने भएको छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेश सरकारले सिमान्तकृत चेपाङ समुदायको उत्थानका लागि कार्यक्रम ल्याइएको बताउनुभयो ।

प्रदेश सरकारको ‘नमूना कार्यक्रम’ भएको बताउँदै यो कार्यक्रमले चेपाङ समुदायको वास्तविक अवस्था समेत बुझ्न मद्दत गर्ने मुख्यमन्त्रीको विश्वास थियोे । प्रदेश सरकारले बहुआयामिक मानेको यो कार्यक्रम प्रदेशको सवृद्धिसँग जोडिएको मुख्यमन्त्रीको भनाई थियो । मुख्यमन्त्री जमकट्टेलले खुर्सानी, बेसार अदुवा जस्ता सहबाली समेत लगाउन सकिने गरी ‘चिउरी पकेट क्षेत्र’ नै बनाएर जाने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री कुमारी मोक्तानले आर्थिक तथा सामाजिक रूपमा पिछडीएका चेपाङ समुदायको जीवनस्तर सुधारका साथै ऐतिहासिक दृष्टिकोणले कार्यक्रम महत्वपूर्ण रहेको दाबी गर्नुभयो । चिउरी संरक्षण गरेर प्रदेश सरकारले रैथाने फल संरक्षणलाई समेत जोड दिएको उहाँले बताउनुभयो ।

मकवानपुरको राक्सिराङ गाउँपालिका, चितवनको राप्ती नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका तथा धादिङको गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा यो कार्यक्रम लागू हुने सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख गोपालप्रसाद कँडेलले बताउनुभयो । प्रदेश सरकारले प्रतिपालिका ७ लाख ७५ हजार रकम उपलब्ध गराउने गरी रु ५० लाख बजेट विनियोजन गरेको छ । सम्बन्धित पालिकाको २० प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.