अक्करे भिरमा ‘हनी हन्टीङ’ सुरु (फोटो फिचर)
म्याग्दी- म्याग्दीका अक्करे भिरहरुमा हनी हन्टीङ गर्न सुरु भएको छ । जिल्लाको अन्नपूर्ण, रघुगंगा र धवलागिरी गाउँपालिकाको लेकाली क्षेत्रका भिरबाट मह निकाल्न सुरु गरिएको हो ।
रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका निर छन्त्यालले पात्लेखर्कका भिरहरुमा मह शिकार गर्न सुरु गरेको बताउनुभयो । त्यस्तै अन्नपूर्ण गाउँपालिका–७ टिकोटका महशिकारी दिपक पुनले दोसल्ले भिर लगायतका स्थानमा मह शिकार गर्न सुरु गरेको बताउनुभयो ।
मह शिकारी डोरीको सहायताले भिरमौरीको गोला भएको देख्दै डरलाग्दो भिरमा झुण्डिएर मह निकाल्ने गर्दछन् । तल बसेर हेर्दा रोमाञ्चक तर अत्यन्तै त्रास लाग्ने यो दृश्य देख्नेको मुटुको धड्कन बढ्छ ।
भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ, यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने हुन्छ । भिरमा भिरमौरीले लगाएका गोला काट्नका लागि मह शिकारी डोरी (पराङ) मा झुण्डिएर मह शिकार गर्ने गर्दछन् ।
सुरुवातमा होचा र कम जोखिम भएका भिरहरुमा मह काढेका छन्त्यालले अहिले भने अक्करे पहाडहरुमा चढेर मह काढ्ने गर्नुहुन्छ । चोयाका डोरीमा झुन्डियर माहुरीका चाका नजिक पुगेर मह काढ्ने काम उहाँका लागि सामान्य जस्तै बन्न पुगेको छ । जंगलमा पाईने निगालोको चोयाबाट बनाइएका डोरीको भरमा मह काढ्ने गरेको छन्त्याल बताउनुहुन्छ ।
वसन्त र शरद ऋतु मह शिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँशी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । दोसल्लेको भिरमा तीन दिनदेखि महशिकार गरेको समुहले ४० लिटर मह निकालेका छन् ।
चोयाबाट बनाइएका डालीलाई भिरौटेले मौरीको चाका नजिक लगेर टुप्पोमा कोप्न मिल्ने बनाइएको निगालाको सहायताले मह काढ्ने गर्छन् । पुख्यौली पेसाको रुपमा रहेको मह सिकारले आयआर्जन हुने र पुरानो पेसा पनि जोगिने भएकाले आफुहरुले यसलाई निरन्तरता दिएको युवाहरु बताउँछन् ।।
प्रतिक्रिया राख्नुहोस्