कालीगण्डकीमा अस्थायी काठेपुल, त्यो पनि ब्यक्तिको सहयोगमा

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारस्थित कालीगण्डकी नदी किनारमा रहेको तातोपानी कुण्डमा स्नान गर्न अस्थायी काठेपुल तर्नुपर्ने बाध्यता अझै पनि रहेको छ ।

तातोपानी कुण्डमा पुगेर नुहाउने बिरामी, सर्वसाधारण तथा पर्यटकहरुले अस्थायी पुलको भरमा जोखिम मोलेर कालीगण्डकी नदी तर्दै आएका छन् ।

सरकारले देशभरका नदीमा झोलुङ्गे निर्माण गरी देशलाई तुइनमुक्त बनाउने घोषणा गरेको लामो समय भए पनि म्याग्दीमा भने अझै अस्थायी काठेपुल (साँघु) तर्नुपर्ने बाध्यता रहिआएको छ । अन्नपूर्ण गाउँपालिका–२, भूरुङ तातापानीबाट ५ नम्बर वडा शिखको पाउद्वारमा रहेको तातोपानी कुण्डमा जानको लागि झोलुङ्गे पुलको अभाव भएपछि कालीगण्डकी नदी वारपार गर्न अस्थायी पुल बनाइएको हो ।

प्राकृतिक चिकित्सालयको उपचारस्थल बनेको पाउद्वार तातोपानी कुण्डमा पाउद्वार निवासी तथा कुण्डका सञ्चालक डेमकुमार तिलिजाले व्यक्तिगत लगानीमा कालीगण्डकी नदीमा अस्थायी प्रकृतिको काठेपुल निर्माण गरी नुहाउन आवतजावत गर्ने व्यवस्था मिलाउनुभएको छ ।

कालीगण्डकी नदीमा काठको अस्थायी पुल निर्माण भएपछि बिरामी र सर्वसाधारणहरु लाभान्वित भएका छन् । एकलाख रुपैयाँभन्दा बढीको लागतमा काठको फ्लेक, बला, बाँस र ग्याबिन जालीको सहायतामा स्थानीय सिपको प्रयोग गरेर पुल निर्माण गरेको सञ्चालक तिलिजाले जानकारी दिनुभयो ।

कालीगण्डकी नदीमाथि हालिएको अस्थायी काठेपुल हिउँदको छ महिनाको लागि मात्रै प्रयोगमा आउने गर्दछ ।

पुल निर्माणपछि नारच्याङ पुगेर एक घण्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने अहिले पाँच मिनेटमा पाउद्वार तातोपानी कुण्डमा पुगिन्छ । तातोपानी कुण्डमा नुहाएपछि ग्यास्टिक, युरिकएसिड, बाथरोग, हड्डी र हार्डजोर्नीको दुखाई, छाला तथा नशासम्बन्धी विभिन्न रोग, चोटपटक लागेको, मोटोपन र चिसोबाट उत्पन्न सबैखाले रोगहरु निको हुने जनविश्वास रहेको छ ।

तातोपानीमा नुहाएपछि हड्डी तथा मेरुदण्डको दुखाई कम हुनुका साथै चिसोबाट लागेका रोगहरु समेत निको हुँदै गएको पोखराबाट तातोपानी नुहाउन आउनुभएका कृष्ण पुनले अनुभव सुनाउनुभयो ।

अहिले पाउद्वारको तातोपानी कुण्डमा दैनिक एकसय जनाभन्दा धेरै बिरामीहरुले स्नान गर्दै आइरहेका छन् । पाउद्वारको तातोपानी कुण्ड सञ्चालन गर्नको लागि अन्नपूर्ण गाउँपालिकाले वर्षेनी टेण्डर आह्वान गरी ठेक्कामा लगाउने गर्दछ ।

गतवर्ष पनि ठेक्का पाउनुभएका सञ्चालक तिलिजाले यसवर्ष पनि उहाँले नै ठेक्का पाउनुभएको हो । उहाँले टेण्डरमार्फत पाएको तातोपानी कुण्ड सञ्चालनको लागि गाउँपालिकालाई २० लाख रुपैयाँ तिर्नुभएको छ ।

कुण्डमा नुहाउनको लागि शुल्क निर्धारण गरिएको छ भने बिरामीहरुले आवश्यकताअनुसार समय व्यवस्थापन गरेर नुहाउने गर्दछन् ।

पाउद्वारमा रहेको तातोपानी कुण्डको व्यवस्थापन गर्नको लागि आवश्यक पहल भैरहेको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताउनुभयो ।

म्याग्दीको विभिन्न स्थानमा १४ वटा तातापानीका मुहान र कुण्डहरु रहेका छन् ।

अन्नपूर्ण गाउँपालिकामा मात्रै चारवटा भन्दा धेरै तातोपानीका मुहान र कुण्ड छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.